पौडेल र प्रधानाङ्गले पाए प्रथम डीन स्व. तुलाधर स्वर्ण पदक

322
Shares

काठमाडौं।

इन्जिनियरिङ अध्ययन संस्थानका प्रथम डीन स्वर्गीय कुलरत्न तुलाधरको सम्मानमा स्थापित प्रथम डीन स्व. कुलरत्न तुलाधर स्वर्ण पदक पुरस्कारबाट पुल्चोक क्याम्पसका विद्यार्थी आशिष पौडेल र कान्तिपुर इन्जिनियरिङ कलेजका विद्यार्थी रीति प्रधानाङ्गले प्राप्त गर्नुभएको छ ।

पौडेलले कम्प्युटर सिस्टम नलेज इन्जिनियरिङको स्नाकोत्तर तहमा सर्वोत्कृष्ट अंक ल्याएर उतीर्ण हुनुभएको थियो भने प्रधानाङ्गले कम्प्युटर इन्जिनियरिङको स्नातक तहमा सर्वोत्कृष्ट अंक ल्याएर उतीर्ण हुनुभएको हो ।

प्रथम डीन स्व. तुलाधरको पुण्य स्मृतिमा सोमबार पुल्चोक इन्जिनियरिङ क्याम्पस परिसरस्थित स्व. तुलाधरको पूर्ण कदको शालिकअगाडि आयोजित कार्यक्रममा इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राडा शशीधर राम जोशीले पौडेल र प्रधानाङ्गलाई स्वर्ण पदक हस्तान्तरण गर्नुभएको हो ।

त्यसैगरी पदक समितिका संयोजक सहायक डीन प्राडा सुशील बहादुर बज्राचार्य र स्वं तुलाधरकी कान्छी छोरीले स्वर्ण पदक विजेता द्वयलाई प्रमाणपत्र र जनही १० हजार रुपियाँ हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा डीन प्राडा जोशीले इन्जिनियरिङ र आर्किटेक्ट शिक्षा क्षेत्रमा स्व. तुलाधरको योगदानको स्मरण गर्दै उहाँले अघि बढाउनुभएको शिक्षालाई अझै परिमार्जित र व्यवस्थित बनाउन आफ्नो प्रयास जारी रहने बताउनुभयो ।

पदक समितिका संयोजक सहायक डीन प्राडा बज्राचार्यले प्रथम डीनको स्मृतिमा ९ लाख रुपियाँको अक्षयकोष स्थापना गरिएको र त्यसैको ब्याजबाट पदक दिइदै आएको जानकारी दिंदै इन्जिनियरिङ विधामा विद्यार्थीहरूलाई प्रोत्साहन गर्न यो पदक निकै महत्वपूर्ण हुने बताउनुभयो ।

कार्यक्रममा प्रथम डीन स्व. तुलाधरकी कान्छी छोरी चित्रशोभा तुलाधरले आफ्नो बुबाले इन्जिनियरिङ अध्ययन संस्थामा प्राविधिक शिक्षकको अभाव रहेको भन्दै भारतबाट शिक्षकको पूर्ति गर्ने गरेको स्मरण गर्दै भन्नुभयो– ‘बुबाले यो संस्थान स्थापना गरेयता अहिले देशभर नै इन्जिनियरिङ क्याम्पस र इन्जिनियरहरूको संख्या बढ्दै गएको देख्दा धेरै खुसी लागेको छ ।’ कार्यक्रममा कौडण्य भन्तेलगायत भिक्षु महासंघका भिक्षुहरूले पञ्चशील र परित्राण पाठ गर्नुभएको थियो ।

सन् १९७३ मा इन्जिनियरिङ अध्ययन संस्थानको प्रथम डीनको रुमा नियुक्त भएका स्व. तुलाधरले सन् १९५५ मा बेलायतबाट ट्रपिकल आर्किटेक्टमा पोष्ट ग्राजुएट गर्नुभएको हो । सन् १९५६ मा बनेको नेपालको पहिलो राजमार्ग त्रिभुवन राजपथको डिजाइन र निर्माणमा महत्वपूर्ण योगदान दिएका स्व. तुलाधरका इन्जिनियरिङसम्बन्धी छ वटा पुस्तकहरू प्रकाशित छन् । उहाँ बेलायतको प्रतिष्ठित पदक ‘अडर अफ द ब्रिटिश एम्पाएर’ का साथै गोरखा दक्षिणबाहु प्रथम र त्रिशक्ति पट्ट द्वितियबाट सुशोभित हुनुभएको थियो ।