सुरक्षित समाजको कल्पना



सुरक्षा आम नागरिकको पहिलो माग हो । देश सुरक्षित रहेमात्रै समाज सुरक्षित रहन्छ यो आम मान्यता पनि हो । यदकदा समाजमा देखिने अराजकताले मानिसलाई झस्काउने गर्दछ । मानिस आफू सुरक्षित छु कि छैन भन्ने कुराको जानकारी राज्यको सुरक्षाको जिम्मा लिएको सुरक्षा फौजको काम कारबाहीलाई लिएर अनुभूत गर्ने गर्दछन् । पछिल्लो समय मुलुकमा देखिएको अस्थिर राजनीतिका कारण मुलुकको समग्र सुरक्षामा प्रत्यक्ष प्रभाव पारेको देखिन्छ । यही फागुन १गते नयाँ बसपार्क क्षेत्रमा भएको घटनाले मुलुकको सुरक्षा अवस्था कस्तो छ भन्ने छर्लङ्ग भएको छ । सुरक्षा निकायबीचको समन्वयको अभावका कारण जुन दुःखदायी घटना हुन पुग्यो त्यसले मुलुकको सुरक्षा अवस्थाको बारेमा चित्रण गरेको छ ।

यातायात मजदुरका नाममा भएको उक्त आन्दोलन एकाएक तोडफोड र लुटपाटमा परिणत हुँदासम्म सुरक्षा निकायले आन्दोलनको विश्लेषण गर्न नसक्नुले प्रहरीको कार्यदक्षतामाथि प्रश्न उठेको छ । मानव अधिकारको नाममा प्रहरीको काम कारबाहीप्रति प्रश्न उठाउने समूहले पनि अब एकपटक सोच्नुपर्ने बेला आएको छ । मुलुकको शान्ति सुरक्षा अमनचयन कायम राख्न प्रहरीले बल प्रयोग गर्दा मानव अधिकारको कुरा उठाएर घटनालाई अतिरन्जित गर्ने कामले पनि प्रहरीको मनोबल गिर्दो अवस्थामा रहेको देखिन्छ । संस्थाभन्दा पनि व्यक्तिमाथि कारबाही हुने परम्पराको अन्त्य नभएसम्म यस्ता अराजक घटनाले मुलुकमा प्रस्रय पाउन सक्छ । त्यसैले यस्ता अराजक गतिविधिको अन्त्यका लागि सुरक्षा निकायले आफ्नो कर्तव्यलाई कहिल्यै भुल्नु हँुदैन । जसले आफ्नो कर्तव्य भुल्छ उसलाई राज्यले माफी दिनु पनि हुँदैन ।

नयाँ बसपार्क क्षेत्रमा भएको घटनाले आम राजधानीवासीलाई आफूहरू असुरक्षित भएको महसुस गर्न थालेका छन् भने तोडफोड, लुटपाट र आगजनीमा संलग्नहरूको मनोबल बढ्न थालेको हो कि भन्ने आशंका पैदा भएको छ । नेपाल प्रहरीले विगतको आफ्नो व्यावसायिक मर्यादालाई ख्याल गर्दै त्यस्ता तत्वहरूलाई कानुनको कठघरामा उभ्याउन सक्नु पर्दछ । जुनसुकै नाममा हुने अपराधलाई सुरक्षा निकायले कारबाहीको दायरामा ल्याएर मुलुकको शान्ति सुरक्षा मजबुद छ भन्ने उदाहरण दिन सक्नु पर्दछ ।

अहिले राजनीतिमा बढ्दै गएको अपराधीकरणले पनि अपराध गर्ने मनोवृत्ति भएका समूह वा व्यक्तिहरू जुर्मुराउने प्रयास गरिरहेकाले सुरक्षा निकायले त्यस्ता समूह वा व्यक्तिलाई निर्मम भएर कारबाहीको दायरामा ल्याउन सक्नु पर्दछ । अपराधमा संलग्न रहेका व्यक्तिहरूलाई राजनीतिक दलले पनि संरक्षण गर्नु हुँदैन । राजनीति आवरणमा हुने अपराधीलाई राज्यले उन्मुक्ति दिने हो भने समाज सुरक्षित रहन सक्दैन त्यसैले सबै दलहरूले यसतर्फ ध्यान दिन जरुरी छ । राजधानीको नयाँ बसपार्क क्षेत्रमा भएकोजस्तो घटना अन्य क्षेत्रमा पनि नहोला भन्न सकिँदैन । त्यसैले सुरक्षा निकाय जहिले पनि चनाखो भएर बस्नुपर्ने देखिन्छ । राज्यका सबै अंगले आ–आफ्नो क्षेत्रमा खटिएर काम गर्ने हो भने यस्ता घटना गराउने समूहहरू आफैं निस्तेज भएर जान्छन् त्यसतर्फ सबैको ध्यान समयमा नै जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्