एमालेको जन्मकुण्डलीमा राष्ट्रपति : ओली

0
Shares

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको समीकरण जन्मँदै राष्ट्रपति नेकपा एमालेको हुने भनेर लेखिएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा पत्रकारले सोधेको प्रश्नको उत्तर दिँदै उहाँले भन्नुभयो– ‘राष्ट्रपति को हुने भनेर पहिला नै तय छ । अहिलेको समीकरण जन्मँदै त्यसको जन्मकुण्डलीमै लेखेर आएको छ उति बेलै ।’

माओवादी नेता जनार्दन शर्माले त सहमति भएको थाहा छैन भन्नुभएको छ नि भन्ने पत्रकारको प्रश्नमा ओलीले भन्नुभयो– ‘सबैसँग त कहाँ सहमति हुन्छ र माओवादी कार्यकर्ता सबैसँग सहमति गर्दै हिँडेर हुन्छ त ?’ राष्ट्रपतिमा सबैको सहमति हुनुपर्छ भन्ने आवाज पनि उठेको छ नि भन्ने पत्रकारको अर्को प्रश्नको उत्तरमा ओलीले भन्नुभयो– ‘सही कुरा हो, हामीले उम्मेदवार उठाउँछौं, सबैको सहमति हुनुपर्छ ।’ अहिलेको समीकरण सोच विचार गरेर नै बनाएको भन्दै ओलीले एमालेले उठाउने राष्ट्रपतिको उम्मेदवारलाई नेकपा माओवादी केन्द्रले समर्थन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले एमालेले उठाउने उम्मेदवारको नाम आफूले १३ गते सार्वजनिक गर्ने पनि बताउनुभयो ।

नयाँ राष्ट्रपतिको उम्मेदवारी मनोनयनका लागि १३ गतेको समय तोकिएको छ । ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह अलमलमा रहेको पनि बताउनुभएको छ । ओलीले ज्ञानेन्द्र शाहले आफ्नो वरिपरि २–४ जना मानिस देख्नेबित्तिकै पुरानै झल्को आउने गरेको र बोल्ने गरेको बताउनुभयो । ‘ज्ञानेन्द्रजी आफैं अलमलमा हुनुहुन्छ, अझै पनि त्यो पुरानो झल्को उहाँलाई आइराख्छ, २–४ जना मान्छे वरिपरि देख्यो भने त्यो झल्कोले जोस्याउँछ ।’ पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको शुभकामना दिँदै सहकार्यको प्रस्ताव राखेको सन्दर्भमा पत्रकारले सोधेको प्रश्नमा ओलीले भन्नुभयो– ‘कोसँग केसँग सहकार्य ? ज्ञानेन्द्रजी राजनीतिमा हिँडिरहनुभएको छ, अस्ति दियो बाल्नुभयो क्यारे मेचीमा गएर, भएकै छ त ।’ जनताले शासन हातमा लिएको १५ वर्ष मात्र भएको भन्दै ओलीले मिलाउने कुराहरू मिल्दै गएको र काम भइरहेको बताउनुभयो ।