पार्टी खुम्चिनुको मुख्य कारण पार्टी भित्रको समस्या हो : पूर्वसभामुख सापकोटा 

0
Shares

सिन्धुली  ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन बागमती प्रदेश समितिको दोस्रो अधिवेशन सिन्धुलीमा सम्पन्न भएको छ । संगठनका अध्यक्ष शंकर अधिकारीको अध्यक्षता तथा पूर्व सभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनको उद्घाटन गर्दै पूर्व सभामुख सापकोटाले आफू सभामुख हुँदा सङ्घीय शिक्षा ऐन ल्याउन धेरै प्रयास गरे पनि सफल नभएको बताउनुभयो । उहाँले अहिलेसम्म सिकेको समग्र ज्ञान सीप देश विकासमा लगाउने बताउनुभयो। उहाँले सभामुख हुँदा आफ्नो देशको शिर न्यूराउने काम नगरेको दाबी गर्दै अबको बाँकी समयमा पनि जुन भूमिकामा रहेपनि शिर उँचो हुने काम मात्रै गर्ने बताउनुभयो।

उहाँले माओवादी केन्द्र अहिले १८ सिटमा खुम्च्यिनुको मुख्य कारण पार्टी भित्रको समस्या नै मुख्य जड रहेको भन्दै गम्भीर समीक्षा गरेर पार्टीको समस्या हल गर्नुपर्ने बताउनुभयो । उहाँले बिचार, विधि, सिद्धान्त बिर्षिएर आगाडि बढ्दा पार्टी खुम्चिएको जिकिर गर्नुभयो । पछिल्लो समय देशमा छिमेकी मुलुकबाट विभिन्न तहबाट भ्रमण भेटघाट तीव्र भएको भन्दै राष्ट्र जटिल र कठिन मोडमा रहेको उहाँले बताउनुभयो ।

प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन)ले राजनीति हिसाबले माओवादी केन्द्र कमजोर नभएको तर पार्टीका नेता कार्यकर्ताको कमजोर मानसिकताका कारण पार्टीको सिट कम भएको बताउनुभयो । उहाँले विगतलाई सम्मान गर्दै बर्तमानलाई आत्मसात् गरे मात्रै पार्टी बलियो र गतिशील हुने बताउनुभयो । उहाँले सङ्घीय शिक्षा ऐन ल्याउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

त्यस्तै बागमती प्रदेशसभा सदस्य सरल सहयात्रीले शिक्षकहरुले आफू कार्यरत विद्यालयमा आत्मसन्तुष्ट भएर पढाए मात्रै शिक्षा क्षेत्रको विकास हुने बताउनुभयो । सिन्धुलीको स्थानीय तहका प्रमुख, अध्यक्ष, उपाध्यक्षहरूले सङ्घीय शिक्षा ऐन जारी नहुँदा शिक्षा क्षेत्रको समस्या हल हुन नसकेको भन्दै तत्काल शिक्षा ऐन जारी गर्न माग गरेका छन् ।

आज सम्पन्न भएको अधिवेशनले शंकर अधिकारी कै अध्यक्षतामा ११ सदस्यीय पदाधिकारी सहितको नयाँ कार्य समिति चयन गरेको छ । संगठनको वरिष्ठ उपाध्यक्षमा नुवाकोटका दिपक ढुंगाना, महिला उपाध्यक्षमा रामेछापका पार्वती कडरिया, उपाध्यक्षहरुमा काठमाडौंका बाबुराम घिमिरे, ललितपुरका देवेन्द्र महर्जन, महासचिवमा सिन्धुलीका कबिन्द्र गौतम, अर्थ महासचिवमा मकवानपुरका खेमराज लामिछाने, उपमहासचिवमा चितवनका नारायणदत्त कोइराला, महिला सचिवमा दोलखाका कालिका वली, सचिवहरुमा काभ्रेका दुवाङ दोर्जे लामा र सिन्धुपाल्चोकका मान सिँ तामाङ चयन हुनुभएको एकीकृत अखिल नेपाल शिक्षक संगठन सिन्धुलीका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिनुभयो ।