‘हाम्रो पार्टी खुम्च्याउन खोजियो’ 

जेल बसाइँले धेरै कुरा सिकायो

0
Shares

 धनगढी । 

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीले रिहा भएपछि आममाफी दिएकोमा राष्ट्रपतिको कार्यालय, नेपाल सरकार र गृह मन्त्रालयलाई धन्यवाद दिनुभएको छ । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरी आइतबार जिल्ला कारागार कैलालीबाट रिहा हुनुभएको हो।

जेलमुक्त भएपछि चौधरीले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको  र कारागार बसाइँले धेरै कुरा सिकाएको बताउनुभयो। कैलाली कारागारबाट रिहा हुँदै गर्दा पत्रकारहरूसँग कुरा गर्दै चौधरीले यस्तो बताउनु भएको हो।

आफ्नो रिस मान्नेहरूको योजना अनुसार आफूलाई पक्राउ गरिएको भए पनि उनीहरूको योजना सफल नभएको उहाँको दाबी छ। ‘१८ दिन जेल बस्दा मैले धेरै कुरा सिकेको छु,’ चौधरीले भन्नुभयो, ‘आज जुन हिसाबले म भित्र आएँ, त्यो त एउटा राजनीतिक प्रतिशोधको हिसाबले भित्र आएको हो जस्तो लागिरहेको छ। यो सानो पार्टी छ, जसरी उठिराछ, त्यसरी नै खुम्चाइदिऊँ भन्ने जुन परिपाटी देखियो त्यो नेपालको राजनीतिमा त्यति राम्रो देखिएको छैन। अनि अर्को कुरा जेलभित्र कैदीबन्दीहरू कोचाकोच गरेर बस्नुपरेको छ। यसमा सुधार हुनुपर्छ।’

२०६६ भदौ ३ गते बन्दको अवज्ञा गरेको भन्दै ट्याक्टर जलाएको आरोपमा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जनामाथि ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो। तर उहाँहरू फरार भएका थिए। उहाँ गत वैशाखको प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो। उहाँ गत माघ १९ गते बाँकेबाट पक्राउ पर्नुभएको थियो।

तर जिल्ला अदालतको फैसलाबारे आफूले जानकारी नपाएको र सफाइ पेस गर्ने मौका पनि नपाएको उहाँको दाबी छ। ‘म तीनचोटी चुनाव लडिसक्या छु। २०७४ को कानुनमा पनि लेखिसक्या छ। म त्यतिखेर पनि आफ्नो सफाइको लागि पेश गर्न सक्थेँ, उच्च अदालतमा पनि जान सक्थेँ। मैले त्यतिखेर मौकै पाएन। जानकारी नभएपछि मौका कसरी पाउन ?’ उहाँले भन्नुभयो।

मेरो नाम फरार सूचीमा छ कि छैन भनेर सोध्दा जिल्ला प्रहरी कार्यालयले पनि छैन भनेको चौधरीले बताउनुभयो। कारागारबाट निस्किएपछि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसहित नेता, कार्यकर्ताले उहाँलाई फूलमाला लगाएर स्वागत गरेका थिए। प्रजातन्त्र दिवसको उपलक्ष्यमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय मिनाहा भएपछि  चौधरी रिहा हुनुभएको हो। चौधरीले शुक्रबार रिहा हुनका लागि ८ लाख रुपैयाँ धरौटी पनि बुझाउनुभएको थियो।