कार्यसम्पादन मूल्यांकनमा नरैनापुर उत्कृष्ट

0
Shares

बाँके । बाँकेको नरैनापुर गाउँपालिका देशकै उत्कृष्ट भएको छ । देशभरका ७ सय ५३ वटा स्थानीय तहको कार्य सम्पादन मूल्यांकनमा नरैनापुर उत्कृष्ट भएको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले हालै सार्वजनिक गरेको कार्य सम्पादन मूल्यांकन नतिजाअनुसार नरैनापुर देशकै पहिलो बन्न सफल भएको हो । आयोगले प्रदेश तथा स्थानीय तहको कार्य सम्पादन मूल्यांकन कार्यविधि २०७८ को दफा ७ को अधिनमा रही प्रदेश तथा स्थानीय तहका लागि निर्धारण गरिएका कार्य सम्पादन सूचकका आधारमा गरेको मूल्यांकन गरेको थियो ।

कार्य सम्पादन मूल्यांकनमा नरैनापुरले ७८ दशमलव ५१८६ अंक प्राप्त गरेको छ । दोस्रो बनेको प्युठानको प्युठान नगरपालिकाले ७७ दशमलव २६१४ र तेस्रो भएको म्याग्दीको मंगला गाउँपालिकाले ७७ दशमलव ०९२६ अंक पाएको छ ।

गाउँपालिकाका अध्यक्ष मो. इस्तियाक अहमद शाहले जनप्रतिनिधि र कर्मचारीको कार्यप्रतिको लगावले नरैनापुरले यो नतिजा हासिल गरेको बताउनुभयो । गाउँपालिकाका लेखा अधिकृत प्रकाश अधिकारीले राति अबेरसम्म खटिएर गरेको कामको नतिजा देखिएको बताउनुभयो ।

नरैनापुर जिल्लाको विकासमा पछि परेको गाउँपालिका हो । अहिले पनि नरैनापुरलाई विकासका हिसाबले जिल्लाको ‘कर्णाली’ भन्ने गरिन्छ । सडक सञ्जालमा जोडिएको नरैनापुरमा बिजुली पूरा पुगिसकेको छैन । गौरवको आयोजना सिक्टाको नहरको काम ढिलो गरी भइरहेको छ । शिक्षा र स्वास्थ्यमा पालिका कमजोर नै छ । गाउँपालिकाको कार्य सम्पादनले नै नरैनापुरले देशकै ध्यान तानेको छ ।