पूर्वराजा ज्ञानेन्द्रद्वारा राजनीतिक दलहरूलाई सहकार्य गर्न आह्वान

0
Shares

काठमाडौं । नेपालको निरन्तर अधोगतिप्रति अब मौन रहन नसक्ने भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरूलाई सहकार्य गर्न आह्वान गर्नुभएको छ ।

७३औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै पूर्व राजा ज्ञानेन्द्रले देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्थाले आपसी विश्वासका साथ सहकार्यका लागि विलम्ब गर्न नहुने बताउनुभएको हो ।

शुभकामना सन्देशमा भनिएको छ– ‘शोकाकुल अवस्थाको अत्यन्तै प्रतिकूल पलहरूमा पनि हामीले संयमता र देशभक्ति गुमाएनौं र देश छोडेर पनि गएनौं । तर, हामी मौन रहन सक्दैनौं । यी यावत वर्षहरूमा देशको दीर्घकालीन शान्ति, स्थिरता र अन्र्तराष्ट्रिय सम्मान र सार्वभौमिकतामा चिराचिरा पर्न थालेको छ । अब यो देश जोगाउन प्रजातन्त्रको लागि अपरिहार्य राजनीतिक दलहरू र लामो समय देशभक्तिपूर्ण ऐतिहासिक विरासत बोकेको राजसंस्था आएर आपसी विश्वासका साथ सहकार्यको लागि विलम्ब गर्नु हुँदैन ।’

प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपिता श्री ५ त्रिभूवनसहित प्रजातन्त्रका निम्ति त्याग, उत्सर्ग र योगदान गर्ने सबैको संस्मरण गर्नुभएको छ ।

नेपाल एकीकरणको झन्डै २ सय ४० वर्षपछि आफूले शासकीय सत्तारूपी जनताको नासो जनतालाई नै बुझाएको स्मरण गराउनुभएको छ ।
सन्देशमा देश बलियो बनाउने, समाजलाई आफ्नो राष्ट्रिय परिचयसहित रूपान्तरण गर्ने र भावी पुस्तालाई समुन्नत नेपाल छोडेर जानका लागि राजनैतिक तथा सामाजिक रूपले दबाब दिन सक्ने युवाशक्ति बाहिर हँुदा राजनीतिक दलका नेताहरूलाई हाइसन्चो भएको भान भए स्वदेशमै गरिखाने माहोल छैन भन्ने सोचले जरा गाड्दै जानु चिन्ताको विषय भएको उल्लेख छ । शासकीय उत्तरदायित्व र गाम्भीर्यको कमी देशभित्रका सवालमा मात्र होइन परराष्ट्र सम्बन्धमा पनि देखिन थालेको र नेपालको सार्वभौमिक परिचयमा नै आँच आउने गरी कमजोर मानसिकताका साथ स्वार्थ केन्द्रित अपरिपक्क परराष्ट्र नीतिको अभ्यास भएको भन्दै सन्देशमा गम्भीर चिन्ता व्यक्त गरिएको छ ।

शुभकामना सन्देशमा देशभक्ति, सुशासन, आर्थिक प्रगति, सार्वभौमिक भावना र सनातन धर्मसहितको नेपाली पहिचानको संवद्र्धन गर्ने गराउने ध्येय नै मूलमान्यताको रूपमा स्थापित गर्न आह्वान पनि गरिएको छ ।