म्याग्दीको गलेश्वरमा शिवरात्रि मनाउने भक्तजनहरु बढे (तस्बिरसहित)

0
Shares

म्याग्दी ।

बेनी नगरपालिका–९, गलेश्वरमा अवस्थित गलेश्वरधाम शिवालयमा आज (शनिवार) बिहानैदेखि भक्तजनहरु पुगेका थिए । विगतका वर्षमा कोरोना भाइरसको जोखिमका कारण सामान्य पूजा भएकोमा यस पटक भने महाशिवरात्रि पर्वको अवसरमा भक्तजनहरुको घुइँचो लागेको हो ।

महाशिवरात्रि पर्वमा बिहानैदेखि गलेश्वर शिवालय मन्दिरमा भक्तजनहरुले पूजा आराधना गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।


बेनीबजारदेखि ३ किलोमिटर उत्तर तथा पूर्वमा अवस्थित पवित्र कालीगण्डकी नदी किनारमाथि रहेको ९ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा फैलिएको गलेश्वरधाममा बिहानैदेखि म्याग्दीसहित विभिन्न जिल्लाहरुबाट आएका भक्तजनहरुले पूजाआजा गरेका हुन् ।

शिवरात्रि पर्वको अवसर पारेर गलेश्वरधाममा भगवान् शिव महादेवको स्वयं उत्पत्ति ज्योर्तिलिङ्गको पुजाअर्चना गर्न म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, चितवन, रुपन्देही, धादिङ, काठमाडौंलगायत जिल्लाबाट करिब ३० हजार श्रद्धालु भक्तजनहरु आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो । महाशिवरात्रि पर्वको दिन भक्तजनहरुले शुद्ध भई ‘ॐ नम :शिवाय’ मन्त्र जप्दै पुजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय बस्तु दूध, धतुरो तथा बेलपत्र चढाउने शास्त्रीय मान्यता रहिआएको छ ।

गलेश्वर मन्दिर परिसरमा दिनभरजसो शिवजीको पूजा आराधना गर्ने र रातको समयमा बत्ती बालेर जाग्राम बस्ने, भजनकिर्तन गर्ने, धुनी जगाउने तथा भगवान् शिवको प्रिय मानिने महाप्रसाद ग्रहण गर्ने व्यवस्था मिलाइएको छ । महाशिवरात्रि पर्वलाई भव्य र सभ्य रुपमा मनाउन र पूजा व्यवस्थापनका लागि विभिन्न २२ वटा उपसमितिहरुमार्फत काम गरिएको क्षेत्र विकास कोषका सदस्य–सचिव बलबहादुर खत्रीले बताउनुभयो । उहाँले गलेश्वर शिवालयमा पूजाआजा गर्न आउने श्रद्धालु भक्तजनहरुको सहज व्यवस्थापनमा जिल्लास्थित विभिन्न संघसंस्थाले पनि सहयोग गरेको जानकारी दिनुभयो ।

महाशिवरात्रिमा गलेश्वरमा भक्तजनले निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा किर्तन गरी शिवपुजा गर्दछन् । शिवरात्रि पुजाको ब्रतकालमा भगवान् शिवजीको ध्यान, पुजन र जप गर्ने गरिन्छ । यसैगरी शिव पूजा गर्दा इशान मूर्तिलाई दुधले, अघोर मूर्तिलाई दहीले, वामदेव मूर्तिलाई घ्युले तथा सद्योजात लिङ्गोदेव मूर्तिलाई महले स्नान गराइन्छ । महाशिवरात्रि पर्वमा शिव भगवान्को आराधना गरेमा मनोकांक्षा पूरा हुने विश्वासले आफू गलेश्वर आएको भक्तजन गंगा खत्रीले अनुभव सुनाउनुभयो ।

यसैबीच म्याग्दी सदरमुकाम बेनीबजारमा रहेको बेनी शिवालय मन्दिरमा पनि शनिवार बिहानैदेखि भक्तजनहरुको भीड लागेको थियो । गलेश्वर शिवालयभन्दा नजिकमा रहेको बेनी शिवालयको १०८ शिवलिङ्गमा पूजा गर्ने भक्तजनरुको घुइँचो लागेको हो । शिवरात्रि पर्वको अवसरमा श्रद्धालु भक्तजनहरुलाई सहज रुपमा पूजाआजा गर्ने व्यवस्था मिलाइएको बेनी शिवालय मन्दिर संरक्षण समितिले जनाएको छ ।

शिवरात्रि पर्वमा भक्तजनहरुले निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिङ्गमा दुग्धाभिषेक र शिव महिमा किर्तन गरी शिवपुजा गर्दछन् । खासगरी हिन्दु धर्मावलम्बीहरुले महाशिवरात्रि पर्व मनाउने गर्दछन् । फागुन कृष्ण चतुर्दशी तिथिका दिन पूजा, आराधना र दर्शन गरेको खण्डमा सुख, शान्ति तथा मृत्युपछि पनि सद्गति प्राप्त हुने हिन्दु धर्मावलम्बीहरुको विश्वास रहिआएको छ ।