तासमेनियाबाट नेपथ्य अष्ट्रेलिया श्रृंखलाको अन्तिम सलाम

0
Shares

होबार्ट।

एन्टार्टिका महादेशबाट नजिकै पर्ने अष्ट्रेलियाली टापु तासमानियामा शुक्रबार बेलुकी अन्तिम प्रस्तुतीसँगै यो वर्षको नेपथ्य अष्ट्रेलिया श्रृंखलावद्ध यात्राको समापन भएको छ । अष्ट्रेलियाका अन्य प्रान्तीय राजधानीहरुभन्दा शान्त होबार्ट सहरमा ऐतिहासिक महत्वको १ सय ७ वर्ष पुरानो सभागृह ‘ओडियन थिएटर’ दर्शकले भरिभराउ थियो । आफ्नो प्रिय ब्याण्ड नेपथ्यलाई दोश्रोपटक यस सहरमा पाएर रमाएका नेपालीहरुले अधिकांश गीतमा मञ्चका कलाकारलाई साथसाथै गाएर सघाएका थिए ।

शुक्रबार स्थानीय समय अनुसार बेलुकी नौ बजेदेखि कन्सर्ट सुरुभएको थियो । कार्यक्रममा अन्यत्रजस्तै ब्याण्डको स्थापनाकै पहिलो गीत ‘आँगनैभरि हिउँ नै झरे’ बाट सुरुगरियो । त्यो गीतबाटै हलभरिका दर्शकले साथसाथै गाएर कन्सर्टको माहोल तताइदिएपछि यो क्रम सिंगो कार्यक्रम अवधिभर जारी रहन पुग्यो ।

दोश्रो प्रस्तुतीका रुपमा ‘छेक्यो छेक्यो’ र त्यसपछि पनि क्रमशः ‘भेँडाको ऊन’ र ‘लामपाते सुरती’ हुँदै अघिबढेको कन्सर्ट अवधिभर नेपथ्यले उसका पुराना र नयाँ गीतहरु सुनाउँदै गएको थियो ।

कन्सर्टमा नेपथ्यका मुख्य गायक अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।

यसवर्ष जारी अष्ट्रेलिया यात्राका दौरान तासमानियाको यो कन्सर्ट श्रृंखलामध्येको आठौं प्रस्तुती थियो । यसअघि डार्बिन, एडिलेड, ब्रिसबेन, क्यानबेरा, पर्थ, सिड्नी र मेलबर्नमा सफलताका साथ कन्सर्ट सम्पन्न भइसकेका छन् ।

तासमानियामा अन्तिम प्रस्तुती सम्पन्न भएसँगै ब्याण्ड, प्राविधिक र व्यवस्थापनसहितको १३ सदस्यीय टोली यसै साता मेलबर्न हुँदै स्वदेश फर्कनेछ ।