जग्गा व्यवस्थापन सम्बन्धी धुलिखेलमा दुई दिने कार्यशाला

0
Shares

काभ्रे।

भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेलले जग्गा व्यवस्थापन सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय स्तरको कार्यशाला धुलिखेलमा सुरु गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईले कार्यशालाको उद्घाटन गर्नु भएको थियो ।

जग्गा व्यवस्थापन सम्बन्धी समस्या समाधानका लागि सरकार तयार रहेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईले बताउनु भयो । स्थानीय तहले गरिरहेको जग्गा वर्गीकरणको कार्य छिट्टै सम्पन्न गर्न सहजीकरणको प्रयास भएको उहाँले बताउनु भयो । वैज्ञानिक व्यवस्थापनका लागि विभिन्न मुलुकमा भएका अभ्यासलाई नेपालले पनि अनुकरण गरिने मन्त्री राईले बताउनु भयो ।

भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेलका महानिर्देशक गणेशप्रसाद भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्रालयका सचिवद्धय डा. दामोदर रेग्मी र गोविन्दप्रसाद शर्मा, काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रो.डा भोला थापा, रजिस्ट्रार अच्युत वाग्लेले भूमि व्यवस्थापनमा नेपालमा भएका अभ्यासका बारेमा धारणा राख्नु भएको थियो । भूमिलाई नेपालमा अर्थसँग जोडेर भइरहेका कारोबार तथा त्यसलाई सहजीकरण गराउन गरिनु पर्ने विषयमा सहभागीहरूले धारणा राखेका थिए ।

धुलिखेल नगरपालिका प्रमुख एवं नेपाल नगरपालिका सङ्घका निवर्तमान अध्यक्ष अशोक ब्याञ्जुले स्थानीय सरकारले भू–उपयोग नीतिका लागि जनशक्ति र अनुभव नभएकाले संघ र प्रदेश सरकारको समन्वय आवश्यक रहेको बताउनु भयो । जग्गा वर्गीकरण हुन नसक्दा देशभरका स्थानीय तहमा जग्गाको कारोबार हुन सकेको छैन । संविधानले व्यवस्था गरेको तीन तहको अधिकारलाई जग्गा वर्गीकरण तथा अन्य व्यवस्थामा केन्द्रीय तहले हस्तक्षेप गरिरहेको नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो ।

कार्यक्रममा वर्ल्ड बैकका प्रतिनिधि लडा स्ट्रेलकोभा, सर्भेयस सोसाइटिका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद ओली लगायतले अन्तर्राष्ट्रिय र नेपालका अभ्यासहरूका बारेमा धारणा राख्नु भएको थियो । कार्यशालामा विभिन्न क्षेत्रका व्यक्तिहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा भएका अभ्यास र अनुभवका बारेमा कार्यपत्र प्रस्तुत हुनेछन् ।