बागमतीका सांसदलाई धुलिखेलमा अभिमुखीकरण

0
Shares

काभ्रे। 

बागमती प्रदेशका सांसदहरुलाई विधि निमार्ण प्रक्रिया, संसदीय गतिविधि र विधि निर्माणका बारेमा दुई दिने अभिमुखीकरण सुरु गरिएको छ । बागमती प्रदेश सभा सचिवालय, बागमती प्रदेश हेटौडाको आयोजनामा अभिमुखीकरण सुरु भएको हो ।

संघीय संसदका सभामुख देवराज घिमिरेले अभिमुखीकरण गोष्ठीको उद्घाटन गर्दै संसद्को गरिमा उँचो बनाउन संसदीय मर्यादा र भूमिकालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनु भयो । संसदमा प्रस्तुत हुँदा मात्रै नभई संसदीय मर्यादा र भूमिकामा सांसदले खेल्नु पर्ने भूमिकाका बारेमा सांसदहरू चनाखो हुनु पर्ने सभामुख घिमिरेले बताउनु भयो । संघ र प्रदेश तहका सबै संसदहरुलाई प्रभावकारी बनाउँदै नागरिकहरुका आवाजलाई सांसदहरुले प्रस्तुत गरेका विषयमा सरकारको ध्यानाकर्षण गराउने भूमिकामा सभामुख र संसद् उतिक्कै महत्त्वपूर्ण र चनाखो हुनु पर्ने सभामुख घिमिरेले बताउनु भयो । दुई दिने अभिमुखीकरणमा विज्ञहरु उदयराज सापकोटा, मुकुन्द शर्मा र डा. रोजनाथ पाण्डेले प्रशिक्षण दिनुहुनेछ ।

बागमती प्रदेशका १३ जिल्लाका सांसदहरू, सभामुख, उपसभामुख लगायत विशिष्ट व्यक्तिहरुको कार्यक्रममा सहभागिता रहेको छ । बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकको अध्यक्षतामा सञ्चालित कार्यक्रममा उपसभामुख अप्सरा चापागाईँले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।  बागमती प्रदेशले पाँच बर्षे यात्रा पुरा गर्दा पहिलो कार्यकालको १० वटा अधिवेशनमा २ सय ७२ वटा बैठक बसेको थियो भने दोस्रो कार्यकालको पहिलो अधिवेशन चलिरहेको छ । बागमती प्रदेश सभाको पहिलो कार्यकालमा प्रदेशको राजधानी हेटौडा र प्रदेशको नाम बागमती राख्ने ऐतिहासिक कार्य सम्पन्न गरेको थियो ।

पाँच वर्षको अवधिमा ७० वटा कानुन पास गरी ३३ वटा पाइप लाइनमा रहेको छ । संसद्को भूमिका र गरिमालाई बढाउने कार्यमा कृाशिल रहने प्रदेश सभामुख भुवन पाठकले बताउनु भयो । प्रदेश सभामा सम्बन्धित प्रदेशबाट प्रतिनिधि सभामा पहिलो हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने सदस्य सङ्ख्याको दोब्बर सङ्ख्यामा हुन आउने सदस्य ६६ र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने ४४ जना गरी कूल १ सय १० जना सदस्यहरु रहने व्यवस्था छ । आवासीय अभिमुखीकरणका बारेमा बागमती प्रदेश सभाका सचिव कृष्णहरी खड्काले प्रकाश पार्नु भएको थियो ।