ग्यास सिलिण्डर विस्फोट हुँदा दुई जना घाइते

0
Shares

दाङ।

दाङमा खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका–१६ लहलौरामा आज बिहान खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा तुलसीपुर उपमहानगरपालिका–१६ लहलौराका ५० वर्षीया कुसुम केसी र चितवन जिल्ला भरतपुर महानगरपालिका–५ घर भई हाल तुलसीपुर–१६ मा बस्दै आएका २९ वर्षीय आशिष खनाल घाइते भएका हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर–१६ मा रहेको कृषि बीउ उत्पादन कम्पनीमा खाना पकाउने क्रममा सिलिण्डर ग्यास विस्फोट हुँदा केसीको कम्मरमुनिको भाग जलेको छ भने खनालको दुवै हात र खुट्टा जलेको छ।

दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । घाइतेमध्ये कुसुमको अवस्था गम्भीर रहेको छ भने आशिषको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।