स्याङ्जाको वालिङमा गौसंरक्षण महोत्सव

0
Shares

स्याङ्जा । राष्ट्रिय जनावर गाई पछिल्ला लोप हुँदै गइरहेका बेला स्याङ्जाको वालिङमा गौसंरक्षण महोत्सव–२०७९ शुरु भएको छ । जिल्लाको वालिङ ८ स्थित खेलमैदानमा गौसंरक्षण महोत्सव तथा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको हो ।

गाई संरक्षणका लागि धुनी शिवालय फूलबारी गुठी गौशाला आश्रमले वालिङ खेल मैदानमा ज्ञान महायज्ञ सञ्चालन गरेको हो । महायज्ञमा प्रखर तात्विक वक्ता पं. नेत्रप्रसाद पराजुलीबाट मूलपाठ तथा पूजा अर्चना गरिएको आयोजक समितिका संयोजक दिलिपप्रताप खाँणले जानकारी दिनुभयो । वालिङ ८ मा निर्माण गरिएको गौशालाको संरक्षणका लागि महायज्ञ आयोजना गरिएको यज्ञ व्यवस्थापन समितिले जनाएको छ ।

गाई संरक्षणको लागि आयोजना गरिएको यज्ञले नयां पुस्तामा गौमाताको सेवा, सद्भाव र संरक्षणमा आफ्नो दायित्व र कर्तव्य बोध गराउने आयोजकको विश्वास छ । यज्ञमा विशेष गौदान, ब्रतबन्ध, तुलादान, भूमिदान, नवग्रह शान्ति, कालसर्प योग शान्ति, पितृदोष शान्ति, लघुरुद्री पाठ, सतचण्डी पाठ परायण, सवा लाख गायत्री मन्त्रजप तथा हवन र पितृहरुको वैकुण्ठवासको कामना हेतु १० लाख दीप प्रज्वलन कार्यक्रम समेत रहेको आयोजकले जनाएको छ ।

यस महायज्ञबाट संकलित रकमलाई अक्षयकोष स्थापना गरि गौसंरक्षणमा खर्च गरिने आयोजकको लक्ष्य छ । महायज्ञमार्फत धार्मिक चेतना, गाईको महत्व, मानवीय सभ्यता, गौसंरक्षणमा हाम्रो दायित्व, सभ्य र अनुशासित समाजको निर्माण, धार्मिक पर्यटनको विकास तथा विशेष गरी गाई पालन संरक्षण, गोमूत्र प्रशोधन एवं गोबरबाट विभिन्न संभावित धुपबत्तिहरुको प्रयोग गर्दै गाईको व्यवस्थापन गर्ने उद्देश्य रहेको संयोजक खाँणले बताउनुभयो ।

महायज्ञको उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं प्रतिनिधिसभा सदस्य धनराज गुरुङले जनतामाझ वाचा नभई महसुस दिलाउने गरी काम गर्नुपर्ने बताउनुभएको छ । उहाँले वाचाभन्दा पनि जनताले महसुस हुने काम वा परिवर्तन चाहेको बताउनुभएको हो । “जनतामाझ जे गर्न सकिन्छ त्यही मात्रै बोल्नुपर्छ र बोलेका कुरा पूरा पनि गर्नुपर्छ”, उहाँले भन्नुभयो, “जनतालाई झुटा आश्वासन मात्रै बाँड्नु हुन्न भन्ने पक्षमा म छु, जे गर्नसक्छु त्यही बोल्छु, नसक्ने बोल्दिनँ ।”

जनताले नेतृत्वबाट महसुस हुने र देखिने गरी परिवर्तनको अपेक्षा गरेकाले जनताका चाहनालाई सकिने जति सम्बोधन गर्नुपर्नेमा उहाँको जोड छ । “म जनतामाझ कुनै वाचा गरेर जान्नँ, केही वाचा गर्दिनँ”, उहाँले भन्नुभयो, “जे सक्छु त्यो महसुस दिलाउने र देखिने गरी गर्छु, त्यो काम सकिएपछि मात्रै देखिन्छ ।” उहाँले आमासमान रहेकी गौमाताको संरक्षण गर्नका लागि आयोजना गरिएको महायज्ञको सफलताको शुभकामना व्यक्त गर्दै आफ्नोतर्फबाट जे सकिन्छ त्यही सहयोग गर्ने बताउनुभयो ।

गण्डकी प्रदेशसभा सदस्यहरु भोजराज अर्याल, सरस्वती अर्याल तिवारी, कल्पना तिवारी, महेश भट्टराई, पूर्वसांसद शङ्करप्रसाद पाण्डे, वालिङ नगरप्रमुख कृष्ण खाँण, गण्डकी प्रदेशसभाका पूर्वसदस्य मोहन रेग्मीलगायतले व्यवस्थित गौशाला सञ्चालनका लागि सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो । बढ्दो आधुनिकतासँगै गाईपालनतर्फ रुचि हराउँदै गएकाले गौमाताको संरक्षण गर्ने मुख्य उद्देश्यसहित धुनी शिवालय फूलबारी गुठी गौशाला आश्रम वालिङ–८ काफलडाँडाले महायज्ञको आयोजना गरेको हो । बाटोघाटोमा गाईलाई छाडा छोडिदिँदा सम्भावित सवारी दुर्घटनाका साथै खेतबारीमा बालीनाली खाइदिने समस्या भएपछि गाईको संरक्षण तथा व्यवस्थापनका लागि महायज्ञ सञ्चालन गरिएको महायज्ञ मूल आयोजक उपसमितिका निर्देशक हरिहर पाण्डेले बताउनुभयो ।

“यसअघि स्वर्गाश्रममा गौशाला निर्माण गरी सञ्चालन गरिए तापनि चरनको अभावका कारण काफलडाँडामा गौशाला स्थानान्तरण गरेका छौँ”, निर्देशक पाण्डेले भन्नुभयो, “अब यहाँ स्थानान्तरण गरिएको गौशालाको दिगो व्यवस्थापनका लागि महायज्ञ गरेका हौँ, उठेको रकमबाट अक्षयकोष स्थापना गरी गौशालाको व्यवस्थापनमा खर्च गर्छौं ।” काफलडाँडामा प्रशस्त चरन रहेकाले पनि गाईपालनका लागि खर्च कम हुने उहाँको विश्वास छ ।

दिलिप प्रताप खाँणको संयोजकत्वमा एक हजार पाँच सय एक सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । गौशालामा हाल १ सय २६ गाई रहेका छन् । गाई हेर्ने गोपाल र दानापानी, औषधोपचारका लागि हाल मासिक रु एक लाख खर्च लाग्ने गरेको छ । खर्चको अभावका कारण गौशाला सञ्चालनमा समस्या भएपछि दिगो व्यवस्थापनका लागि अक्षयकोष स्थापना गरी सोहीमार्फत खर्च जुटाउने लक्ष्य आयोजकको रहेको छ । महायज्ञ आगामी आइतबार सकिनेछ । अहिलेसम्म दानदाताबाट ५ लाख संकलन भैसकेको आयोजकले जनाएको छ ।