भारतीय विदेश सचिव काठमाडौंमा, सोमबार औपचारिक भेटघाटमा व्यस्त

0
Shares

काठमाडौँ।

परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणमा सोमबार काठमाडौं आएका भारतका विदेश सचिव विनयमोहन क्वात्राले पहिलो दिन आज राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीका साथै परराष्ट्र सचिवसँग औपचारिक भेटघाट भेटघाट गर्नुभयो ।

आजै उहाँले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गर्नुभयो । भोलि मंगलबार उहाँले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग भेट गर्ने तयारी छ ।

काठमाडौं उत्रिए लगतै राजधानीको पाँच तारे होटेलमा आयोजित परराष्ट्र सचिवस्तरिय बैठकमा सहभागी हुनुभएको क्वात्रा परराष्ट्र मन्त्रालयले आयोजना गरेको दिवाभोजमा सहभागी हुनुभएको थियो । द्विपक्षिय बैठकमा नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

क्वात्राले सोमबार साँझ नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग प्रधानमन्त्री निवास वालुवाटारमा भेट्नुभएको थियो । भेटमा उर्जा, व्यापार, कृषि, शिक्षा, स्वास्थ्य, कनेक्टिभिटीलगायत क्षेत्रमा आपसी सहयोगका साथै द्विपक्षित्र सम्बन्धका विविध पक्षमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

यसअघि भारतीय विदेश सचिव क्वात्राले परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग परराष्ट्र मन्त्रालयमा भेट गर्नुभएको थियो । भेटमा नेपालमा विकास सहायता बृद्धि गर्ने, लगानीको वातावरण बनाउने, द्विपक्षिय व्यापारमा देखिने समस्या हल गर्ने, विद्युत व्यापारलगायतका विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा. पौड्यालले बताउनुभयो । उहाँले गौतम बुद्ध र पोखर अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ अन्तर्राष्ट्रिय हवाई रुटका सम्बन्धमा पनि छलफल भएको जानकारी दिनुभयो ।

त्यसैगरी भारतबाट सामान आउँदा थाह नभइकनै सामानहरू रोकिने समस्या र विद्युत उत्पादन तथा बिक्री बढाउने विषयमा पनि छलफल भएको परराष्ट्रमन्त्री डा. पौड्यालले बताउनुभयो । जलवायु परिवर्तनको असरका बारेमा पनि छलफल भएको जानकारी दिंदै उहाँले जलवायु परिवर्तनको मुद्दामा बलियो संयन्त्र बनाएर अन्तर्राष्ट्रिय मञ्चमा दक्षिण एसियाली मुलुकको एउटै आवाज बनाउनुपर्नेमा आफूले जोड दिएको बताउनुभयो ।

विदेश सचिवको कार्यभार सम्हालेपछि पहिलो पटक नेपाल आएका नेपालका लागि भारतका पूर्व राजदूत क्वात्राले सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसँग शितल निवासमा शिष्टाचार भेट गर्नुभएको थियो । भेटमा उहाँले भारतीय राष्ट्रपतिको तर्फबाट राष्ट्रपति भण्डारीलाई अभिवादन सुनाउनुभएको थियो । राष्ट्रपति भण्डारीसँगको भेटपछि कांग्रेस सभापति देउवासँग भेट गर्न क्वात्रा बुढानिलकण्ठस्थित देउवा निवास पुग्नुभएको थियो ।

आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा राष्ट्रपतिको उम्मेदवारी बारेको विवादले एमाले अध्यक्ष ओली र प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालबीच तिक्तता बढ्दै गर्दा भएको यो भ्रमणलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपले हेरिएको छ ।