समाचार टिप्पणी : रविले ठूला मिडियामाथि लगाएको लाञ्छनाको जवाफ खोइ ?

0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नेपाली मिडियाका वारेमा कडा टिप्पणी गरेपछि नेपाली मिडिया जगत तरंगित भएको छ ।

अहिले रविको बारेमा पक्ष र विपक्षमा टीकाटिप्पणी गर्ने समूह सक्रिय भइरहेको बेला नेपाली मिडियाप्रति प्रश्न उठेको छ । अहिले मिडिया मालिकहरु आफ्नो प्रष्टीकरण दिन आफ्नै मिडिया प्रयोग गर्दै आएको देखिन्छ ।

रविको पक्षमा वकालत गर्नेहरु मिडियाप्रति विषवमन गरिरहेका छन् भने विपक्षमा रहेकाहरु उग्ररुपमा रविको विरुद्धमा लागेका छन् । अहिले नेपाली मिडियामाथि खुलेर आलोचना हुन थालेको छ । नेपाली मिडिया कुन बाटोमा जाँदै छ सोच्ने वेला आएको हो कि ?

समाजको ऐनाको रूपमा रहेको मिडिया हाउसमाथिको पछिल्लो लान्छानालाई लिएर वहश शुरु भएको छ । के नेपाली मिडिया समाजको ऐना नै हो त ? यो प्रश्नको जवाफ ठूला मिडिया हाउसले दिनुपर्छ कि पर्दैन ? यो पाठकहरुलाई नै जिम्मेवारी दिऊ ।

हिजो मिडियामा अरुले लेखिदिएको कन्टेन्ट पढेर नेता, व्यापारी र उद्योगीलाई थर्काउँदै आएका रविमाथि मिडिया किन यसरी खनियो यो पक्षमा पनि वहश हुन जरुरी छ । हिजो टुँडिखेलमा राखेर नाकको डाँडी भाँच्नुपर्ने भन्दै टेलिभिजनबाट चुनौती दिने रवि आज मिडियाप्रति किन यति आक्रमक बनेका हुन यो उनले नै जान्नुपर्ने विषय हो ।

हिजो आफुले गरेको काम सबै ठीक आज मिडियाबाट बाहिरिएर राजनीतिमा आएपछि मिडियाले गरेको स्वस्थ आलोचनालाई सहन नसकेर रविले असभ्य भाषामा जसरी मिडियालाई गाली गरे उनको अभिव्यक्तिको विपक्षमा मिडियाले रविलाई खेद्नु कत्तिको जायज हो ? यो बिषयमा मिडियाले आफ्नो धारणा सार्वजनिक गर्नुपर्दछ ।

मिडिया सर्वश्री हो । अरु भनेका केही होईनन् भन्ने केही मिडिया हाउसका मालिकहरुमा देखिएको प्रवृत्तिको बारेमा पनि आवाज उठ्न जरुरी देखिन्छ । आफूले गरेको सबै ठीक अरूले गरेको वा बोलेको बेठिक भन्ने मिडिया हाउस मालिकका भावनालाई जायज मान्ने कि नमान्ने यो विषयमा पनि वहश हुन जरुरी छ ।

२०४६ सालको जनआन्दोलनपछि फष्टाएको नेपाली मिडिया २०७९ सालसम्म आइपुग्दा यसले खेलेको भूमिकाका बारेमा चर्चा गर्ने कि नगर्ने । नेपालमा रहेका १४ हजारभन्दा बढी श्रमजीवी पत्रकारहरुको हालत के छ ? मिडियाकर्मीहरुले आफूलाई कसरी स्थापित गराइरहेका छन् भन्ने बिषयमा कुनै पनि पत्रकारले स्वतन्त्र ढंगले बोलेको देखिदैन ।

स्थापित भनिएका पत्रकारहरुले अहिले रविबिरुद्ध जसरी अभिव्यक्ति दिइरहेका छन् ती बरिष्ठ भनिएका पत्रकारहरुले नेपालको समग्र पत्रकारिताको विषयमा एक शब्द कतै बोलेको देखिँदैन । तीन दशकको पत्रकारिताको इतिहास हेर्ने हो भने अधिकांश पत्रकार यो पेशामा टिक्न नसकेर विदेश पलायन वा व्यवसाय नै परिर्वतन गरेको पाइन्छ । यो विषयमा भने कही कतै चर्चा भएको पाइँदैन । नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको अवस्था हेर्ने हो भने दयनीय छ । कुनै मिडिया मालिक कहाँ गएर श्रमजीवीहरुको पक्षमा खुलेर बोल्न सकेको देखिँदैन । यो आरोप होइन अहिलेको यथार्थता हो ।

जुन संस्था प्रति पत्रकारको भरोसा हुनुपर्ने हो त्यो देखिँदैन । यो छलफलको बिषय हो कि होइन ? आम पत्रकारसाथीहरुले विश्लेषण गर्ने विषय हो । आज रविले मिडियालाई जसरी गाली गरे उनको अभिव्यक्तिमा कुण्ठा भरिएको देखिन्छ ।

उनले मिडियामाथि लगाएको आरोप केही हदसम्म सही होला उनको प्रस्तुती हेर्दा युद्धबाट हारेर फर्किएको सिपाहीले जुन रौद्ररूप देखाउँछ रविले त्यहीँरूप देखाए । त्यो किमार्थ सही होइन । आफुलाई चित्त नबुझेको कुरा सालिन ढंगले भन्न सकिन्छ । रविमा त्यो धैर्यता देखिएन । युवा पुस्ताको मानक मानिएका रविबाट युवा पुस्ताले के सिक्ने त्यहीँ रौद्ररूप यसले हाम्रो समाजलाई कता लैजाला यस बिषयमा पनि बहश हुन जरुरी छ ।

रविको अभिव्यक्तिपछि नेपाली मिडिया आएका कन्टेनहरुलाई हेर्ने हो भने लाज मान्नु पर्ने अवस्था छ । आफुहरुले जे गरेपनि सबै ठीक आरोप लगाउनेहरु वेठिक भन्ने खालका कन्टेनहरु बजारमा आइरहेका छन् । यसले नेपाली पत्रकारितालाई फाइदाभन्दा वेफाइदा नै पुर्याउछ । यसतर्फ आम मिडियाकर्मीको ध्यान जानुपर्ने होइन ।