सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

0
Shares

धनगढी ।

सुदूरपश्चिममा आज १ बजेका लागि तय गरिएको प्रदेश सभा बैठक स्थगित भएको छ। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची रहेको आजको बैठक स्थगित भएको हो।

प्रदेश सभा सचिवालयले सूचना टास गर्दै बैठक भोलि (बिहीबार) दिउँसो १ बजे पुनस् बस्ने गरी स्थगित गरिएको जनाएको छ।प्रदेशसभाले सरकारको आग्रहमा बैठक स्थगित गरिएको जनाएको छ।

२७ पुसमा मुख्यमन्त्री नियुक्त भएका रावलले बुधबार विश्वासको मत लिने कार्यसूची तय भएको थियो तर सत्तारूढ गठबन्धनको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग मुद्दालाई लिएर विश्वासको मतबारे अझै निर्णय गरेको छैन।उसका ७ जना प्रदेशसभा सदस्यहरू पार्टीका संस्थापक रेशम चौधरीसँग छलफल गर्न मंगलबार काठमाडौं गएका थिए तर उनीहरू अहिलेसम्म धनगढी फर्किएका छैनन्।

एमालेसहित नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार रावलले भोलि विश्वासको मत लिनैपर्ने हुन्छ। ५३ सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन। मुख्यमन्त्रीलाई बहुमतका लागि २७ मत आवश्यक पर्छ।

प्रदेशसभामा सत्तापक्षीय नेकपा एमालेका १०, माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका एक सदस्य छन्। विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का चार र एक स्वतन्त्र सदस्य रहेका छन्।