देउवा विपक्षी दलको नेता हुन नसक्ने दाबीसहित सर्वोच्चमा रिट

0
Shares

काठमाडौं । प्रतिनिधिसभाको प्रमुख विपक्षी बेन्चमा बसेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विपक्षी दलको नेता हुन नसक्ने दाबीसहित सर्वोच्चमा रिट दर्ता भएको छ । कांग्रेस संसदीय दलका नेतासमेत रहेका उहाँविरुद्ध मंगलबार रिट दर्ता भएको हो ।

अधिवक्ता विमलप्रसाद पोखरेलले पेस गरेको रिट अदालत प्रशासनले संसदीय काम कारबाहीको विषय न्यायिक परीक्षण हुन नसक्ने भन्दै दरपीठ (निवेदन दर्ता गर्न अस्वीकार) गरेको थियो ।

दरपीठ आदेशविरुद्ध परेको निवेदनमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको इजलासले उक्त निवेदन दर्ता गर्नू भनी आदेश दिएपछि निवेदन दर्ता भएको हो । यो सँगै प्रतिनिधिसभाको प्रमुख विपक्षी दलको नेता को हुने भन्ने विषयमा न्यायिक परीक्षण हुने भएको छ ।

कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिनिधिसभामा विश्वासको मत दिएकाले उसको संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको नेताको मान्यता दिन नहुने दाबीसहित रिट निवेदन दर्ता गराएका हुन् । सर्वोच्च अदालतले बुधबारका लागि निवेदनमाथि प्रारम्भिक सुनुवाइको मिति तोकेको छ ।

रिट निवेदनमा देउवाका साथै संघीय संसद सचिवालय, सभामुख, संवैधानिक परिषद् र कांग्रेस संसदीय दलको कार्यालयलाई पनि विपक्षी बनाइएको छ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभाको विपक्षी दलको नेता आफूलाई बनाउनुपर्ने माग गर्दै आउनुभएको छ ।