माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

0
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्ने भएको छ । बैठक आज (सोमबार) बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिशडाँडामा बस्ने भएको हो ।

माओवादी केन्द्रले आज बस्ने पूर्वनिर्धारित स्थायी कमिटी बैठक भोलि (मंगलबार)का लागि सारेर पदाधिकारी बैठक बोलाएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

बैठकमा संगठनात्मक विषयमा छलफल हुनुका साथै संगठनात्मक र कार्यविभाजन लगायतका अन्य समसामयिक विषयमा समेत छलफल हुने महराले बताए ।

तथापि स्रोतका अनुसार उक्त बैठकमा गृह मन्त्रालयको विषयमा पनि छलफल हुनेछ । गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नेपाली नागरिकता सर्वोच्च अदालतले अवैध ठहर गरेको थियो । नागरिकता अवैध भएसँगै लामिछानेले उपप्रधान एवं गृहमन्त्रालयको जिम्मेवारी गुमाएका थिए ।