सहिद सप्ताहको अन्तिम दिन आज, स्मारकमा स्मृति सभाको आयोजना हुँदै

0
Shares

काठमाडौं । सप्ताहव्यापी सहिद दिवसको अन्तिम दिन आज शान्तिबाटिकाबाट प्रभातफेरी शुरू गरी बिहान ९ बजे सहिद स्मारक लैनचौरमा स्मृति सभाको आयोजना गर्ने कार्यक्रम रहेको छ । उक्त सभामा प्रधानमन्त्रीसहित उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहने छ ।

यसअघि छैठौं दिन आइतबार सहिद गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको थियो । सहिद दिवस मूल समारोह समितिले काठमाडौंको शोभा भगवतीमा आयोजना गरेको स्मृति सभामा मन्तव्यसहित सहिदहरूको सालिकमा पुष्पगुच्छा अर्पण गरिएको थियो ।

स्मृति सभामा बोल्दै काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले गंगालाल श्रेष्ठ र दशरथ चन्दको राजनीतिक, सामाजिक तथा व्यक्तित्व आयामका विषयमा चर्चा गर्नुभएको थियो । उहाँले मनको दयालु तर आँटिला सहिद चन्दले नै नेपाल प्रजा परिषद्को नाम प्रस्ताव गर्नुभएको स्मरण गर्नुभयो । चन्दका राजनीतिक क्रियाकलापबाट गंगालाल श्रेष्ठ पनि प्रभावित रहेको जिकिर गर्दै उपप्रमुख डंगोलले भन्नुभयो– ‘उहाँले पितालाई पत्र लेख्दै भन्नुभएको थियो, हजुरका अरू पनि छोरा छन् । एउटा छोरालाई राष्ट्रको स्वाधीनताका लागि त्याग गरिदिनोस् । १८ वर्षको उमेरमा राष्ट्रप्रतिको यो भाव हाम्रा लागि पाठ हो ।’

सहिदहरूको त्याग भावनालाई हाम्रो पुस्ताले व्यववहारमा उतार्न आवश्यक रहेको जिकिर गर्दै स्मृति सभामा वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले भन्नुभयो, ‘अहिले शरीर त्याग गर्नु पर्दैन, व्यक्तिगत स्वार्थ मात्र त्याग गरिदिए पुग्छ । बोलेर होइन, काम गरेर देखाउनुपर्छ ।’

श्रेष्ठ र चन्दलाई मृत्युदण्ड दिइएको स्थानमा स्तम्भ, अर्धकदको शालिक र पूर्ण कदका शालिक राखिएका छन् । तत्कालीन काठमाडौं नगर पञ्चायतले २०३६ साल माघ १५ गते शिलान्यास गरेर २०३७ साल माघ १७ गते स्तम्भ अनावरण गरेको थियो । त्यही ठाउँमा चिँकमुगल बस्ने प्रचण्डलाल श्रेष्ठले २०५८ साल माघ १५ गते सप्ताह लगाएर प्राण प्रतिष्ठा गरी अर्धकदका सालिक स्थापना गराउनुभएको हो ।

महानगरले २०७६ सालमा दुवै सहिदको पूर्ण कदका शालिक निर्माण गरेको हो । नेपाल राष्ट्रको स्वाधीनता र नेपाली जनताको स्वतन्त्रताका लागि १ सय ४ वर्षको हुकुमी शासन र त्यसका शासकलाई चुनौती दिँदै उहाँहरूले स्वीकार गर्नुभएको मृत्युदण्डलाई चीरस्मरणमा राख्न र पुस्तालाई इतिहासको जानकारी दिइराख्न महानगरले सहादत प्राप्त स्थानमा सालिक बनाएर संरक्षण गरेको हो ।

यस वर्ष माघ १० अर्थात पहिलो दिन शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको स्थान टेकु पचलीमा, दोस्रो दिन १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफलमा स्थापना गरिएको सालिकमा पुष्पगुच्छा अर्पण तथा स्मृति सभा गरिएको थियो ।

हुकुमी शासनका विरुद्धमा काम गरेको र जनतालाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनारा शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो । त्यसबखत, एकअर्काले देख्ने गरेर गोली हानेर कायल गराउन खोजिएको थियो । ज्यानको माया गरेर कायल हुनुभन्दा प्रजातन्त्रका लागि गोली खान तयार भएका उहाँहरूलाई पहिले घुँडाभन्दा तल गोली हानिएको थियो । त्यति गर्दा पनि कायल नभएपछि पछि ज्यान जानेगरी गोली ठोकिएको थियो ।

बैतडीमा जन्मिनुभएका दशरथ चन्दले महात्मा गान्धीले भारतमा सुरु गर्नुभएको सत्याग्रहमा पनि सक्रियतापूर्वक भाग लिनुभएको थियो । त्यस्तै, रामेछापको भंगेरीमा जन्मिनुभएका गंगालाल श्रेष्ठ त्रिचन्द्र कलेज पढ्दै गर्दा राणा शासन विरोधी आन्दोलनमा लाग्नुभएको थियो । इन्द्रचोकमा भएको नेपालको पहिलो राजनीतिक सभामा श्रेष्ठले स्वतन्त्रताका पक्षमा भाषण गर्नुभएको थियो ।