पोखरामा जल्दै गरेका दुईको उद्धार, सुनियोजित घटना भएको संगीताका श्रीमानको आरोप

0
Shares

पोखरा । पोखरा महानगरपालिका–१३ स्थित काहुँखोलाको एक घरमा जलिरहेका दुई जनाको उद्धार गरिएको छ । घटना आइतबार बिहान भएको हो । मादी ताप्राङ घर भई काहुँखोलामा स्टेसनरी पसल गर्दै आएका ४५ वर्षीय कृष्णबहादुर क्षत्री र सोही घरकी घरधनी संगीता सापकोटा जलिरहेको अवस्थामा छिमिकीले उद्धार गरी अस्पताल पु¥याएका हुन् । संगीताको अवस्था गम्भीर रहेको छ भने कृष्णको अवस्था मध्यम रहेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी सुवास तिमिल्सिनाले महिलाको अवस्था गम्भीर भएको बताउनुभयो । उहाँका अनुसार पुरुषले आफूले आत्महत्या प्रयास गर्दा संगीता बचाउन आएको बयान दिएका थिए । ‘पुरुषले म डिपे्रसनमा थिएँ । उहाँ (संगीता) ले मलाई बचाउन आउँदा उल्टै जल्नुभएको हो भनेका छन्’, तिमिल्सिनाले भन्नुभयो– ‘हामीले अहिलेसम्म आत्मदाह प्रयास नै बुझेका छौं तर अनुसन्धान भने हुनेछ ।’

उहाँले घटनाको बारेमा विभिन्न दृष्टिकोणबाट अनुसन्धान हुनेसमेत बताउनुभयो । ‘हामीले विभिन्न कोणबाट अनुसन्धान गर्छांै । उनीहरूको पारिवारिक सम्बन्ध, घटनास्थललगायत विविध कुराहरू छन्’, उहाँले थप्नुभयो– ‘अनुसन्धानभन्दा पहिलो प्राथमिकता भनेको दुवैको ज्यान जोगाउनु हो । घाइतेहरूको उपचारलाई प्राथमिकता दिनुपर्छ बाँकी अनुसन्धानका पाटाहरू हुन्छन् ।’ घाइतेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

जलिरहेका दुवै जनाको उद्धारमा खटिएका रामचन्द्र सापकोटा र बुद्धिबहादुर सापकोटाले नग्न अवस्थामा जलेको देखिएको बताउनुभयो । सोही स्थानमा व्यवसाय सञ्चालन गर्दै आएका रामचन्द्रले आफूले घरबेटीलाई मात्र देखेको तर कृष्ण क्षत्रीलाई नदेखेको बताउनुभयो । ‘म पसल खोल्न खोज्दै थिएँ एक्कासि महिला चिच्याएको आवाज आयो ।

आवाज आएकोतिर हेर्दा आगो बलिरहेको देखेँ । त्यसपछि चिच्याए गुहार माग्दै आगो लागेकोतिर दगुरँे’ उहाँले भन्न्ुभयो– ‘म पुग्दा चेन गेट खुला थियो तर जालीवाला ढोकाचाहिँ चुकुल लगाएको थियो । अर्को भाइ आयो अन्डरग्राउन्ड खुला थियो र त्यहाँबाट माथि जाँदा पनि ढोका रहेछ त्यो पनि बन्द थियो । मैले जालीवाला ढोकालाई लात्तीले हानेर फोडेँ त्यहाँ पुग्दा नांगै शरीरमा आगो रन्किएको देखे ।’ त्यति बेलासम्म संगीता ठाडै जलिरहेको सापकोटाको भनाइ छ ।

आगो नियन्त्रणमा लिएपश्चात् अस्पताल लैजानका लागि ट्याक्सी लिन गएको र आउँदा अर्का व्यक्ति पनि जलेको भेटिएको उहाँले बताउनुभयो । ‘आगो नियन्त्रणमा लिएपछि ट्याक्सी लिएर आउँदा दुई जना रहेछन् । मैले कृष्ण क्षत्री दाइलाई देखेको थिइनँ । उहाँ बाथरुममा हुनुहुँदो रहेछ । कपडा केही थिएन । बाहिर हिँडेरै आउनुभयो ।’ भित्री बस्त्रमात्रै लगाएको अवस्थामा जलिरहेको तथा आवाजले घरबेटी भन्ने थाहा पाएको उहाँको भनाइ थियो ।

यस्तै, अर्का उद्धारकर्ता बुद्धिबहादुर सापकोटाले महिलाको शरीरमा लागेको आगो नियन्त्रण गरेपछि बाथरुममा समेत आगो लागेको देखेको बताउनुभयो । उक्त स्थानमा पुग्दा पुरुष जलिरहेको अवस्थामा आफंैलाई बाल्टीबाट पानी हालिरहेको भेटेको उहाँले सुनाउनुभयो । बुद्धिका अनुसार कृष्णको हात, खुट्टा र अनुहार जलेको छ । संगीताको भने शरीर पूरै जलेको छ ।

उता संगीताका श्रीमान्ले भने आफू मर्निङवाक गएको १० मिटेनमा घटना घटेको बताउनुभयो । उहाँले घटनाको बारेमा कृष्णले आत्मदाहको प्रयास भने पनि त्यसो नभएको उहाँको भनाइ छ । उहाँले आफ्नो श्रीमतीको हत्या गर्न खोजेको आरोप लगाउनुभयो ।

‘तप्राङ गएको मान्छे किन आएको । मर्नै मन भए मादीतिरै गएको भए हुने यहाँ किन आएको ? अहिले मर्न पाइनँ भनेर होइन कि मार्न पाइनँ भनेर पश्चाताप गरेको छ त्यसले (कृष्ण क्षत्रीले)’ –मार्ने षड्यन्त्रका साथ कृष्ण आएको उहाँको आरोप छ । घटना कृष्ण बसेको कोठामा भएको हो । घरधनी संगीता पहिलो तलामा बस्छिन् । संगीताका श्रीमान्का अनुसार कृष्णको परिवारसँग पारिवारिक नाताजस्तै सम्बन्ध रहेको बताउँछन् । उहाँले कृष्णका छोराछोरी आफ्नो घरमा आउने खाना खानेसमेत गर्ने गरेको बताउनुभयो ।