मेयर बालेन्द्रको ‘डोजडर आतंक’ विरुद्ध प्रदर्शन

0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको डोजर आतंकविरुद्ध राजधानीवासी आन्दोलनमा उत्रिएका छन् । आइतबार उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति र स्थानीय विभिन्न संगठनहरूले माइतीघरमा प्रदर्शन गरेका थिए । नक्सापास गरी बनाइएका भवनलाई समेत डोजर लगाइने, सडक विस्तारको नाममा स्थानीयलाई उठिवास लगाउने, सडक बिस्तारको नाममा एकलौटी निर्णय गर्न नपाइनेलगायतका माग राखी ती संगठनहरूले सडक प्रदर्शन गरेका हुन् ।

साहलाई निर्वाचनमा जिताउन महत्वपूर्ण भूमिका खेलेका र निर्वाचित भएपछि सँगै हिँडेका सुमन सायमीलगायतको नेतृत्वमा सडकमा प्रदर्शन गरिएको थियो । ‘सडक बिस्तारको नाममा उठिवास गराउन पाइँदैन’ भन्ने प्ले कार्ड बोकेका सायमीले बालेन्द्र साहले एकलौटी रूपमा मनपरी निर्णय गरेको आरोप लगाउनुभएको थियो । उहाँले भन्नुभयो– ‘स्थानीयलगायत सडक बिस्तार पीडितले पटकपटक गरेको आग्रहको बेवास्ता गर्दै लगातार संरचना भत्काउन अघि सरेपछि मेयरविरुद्ध उपत्यकाबासी आन्दोलनमा उत्रिनुपरेको हो ।’

प्रदर्शनमा सहभागीहरूले डोजर आतङ्क बन्द गर्न, सडक विस्तारको नाममा उठिबास नगर्न, आदिबासीको भूमिको अधिकार सुनिश्चित गर्नुपर्ने लगायतका माग राखेका थिए ।

यसअघि खुलामञ्चमा भूमिगत पार्किङ निर्माण गर्ने, परामर्श बिना नै पुरातात्विक महत्वको टुकुचालगायत संरचना भत्काउने, पार्किङकको उचित व्यवस्थापन नगरी दरबारमार्गलगायत पर्यटकीय क्षेत्रका पार्किङ हटाउने लगायतका काम गर्दै आएको उनीहरूको आरोप छ ।

एकल निर्णयलाई कार्यान्वयन गर्न दबाब दिने साहको पछिल्लो गतिविधिविरुद्ध कर्मचारीसमेत दिक्क भएका बताइएको छ । उपत्यकाबासीले सडक विस्तारको नाममा विनास गर्न नपाइने जानकारी गराउँदा गराउँदै हचुवा ढंगमा तोडफोडमा उत्रिएपछि मेयर साहको कडा आलोचना भएको छ ।