नर्समैत्री नीति बनाउनका लागि सक्रिय भूमिका खेल्छु : स्वास्थ्यमन्त्री गिरी

0
Shares

काठमाडौँ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नर्समैत्री नीति बनाउनका लागि सक्रिय भूमिका खेल्ने बताएका छन् । बिरामीको सेवामा चौबिसै घण्टा खटिने नर्सहरुको सेवा–सुविधा वृद्धि गर्नका लागि भूमिका खेल्ने उनले बताए ।

नेपाल नर्सिङ संघको ६१ औँ वार्षिक उत्सव तथा राष्ट्रिय नर्स दिवसका अवसरमा काठमाडौँमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘नर्सहरुका समस्या पहिचान गरेर राज्यले न्यायोचित ढंगले सम्बोधन नगर्दा उनीहरुमा नैराश्यता उत्पन्न हुन्छ र समाजमा अन्य समस्या देखिन्छ,’ उनले भने,‘ नर्सहरुले एउटा लेभल पास गर्नुहुन्छ । मैले सुने आठ हजार –१० हजारमा पनि निजी क्षेत्रमा काम गर्नुपर्ने अवस्था छ । यो निकै चिन्ताको विषय हो । यसरी न्यूनतम तलब भत्ता पनि नदिई श्रमको शोषण गर्ने कुरा कुने पनि हालतमा ठिक हुँदैन । त्यस्ता अस्पताल र निजी स्वास्थ्य संस्थाको राम्रोगरी अनुगमन हुनेछ र आवश्यक कारबाही हुन्छ । यसमा कुनै सम्झौता हुँदैन तथ्य र प्रमाण भेटियो भने नवीकरण नगर्ने र खारेज गर्नेसम्म पनि हुनसक्छ,’ उनले भने ।

उनले बिरामीको उपचारमा नर्सको भूमिका महत्त्वपूर्ण हुने भएकाले नर्सहरुलाई राम्रो सेवा दिइनुपर्ने बताए । ‘बिरामीको उपचारमा सक्रिय रहने नर्सहरुले मुस्कानसहितको सेवा दिनुपर्छ, बिरामीलाई मुस्कानसहित भूमिका दियो भने आधा रोग आफैँ ठिक हुन्छ पनि भनिन्छ,’ उनले भने,‘नर्सिङ पढ्दा तपाईँहरूको मुहारमा सधैं हाँसो हुन्थ्यो । यो पेशामा लागेपछि हाँसो नै गुम्यो । बिरामी आउँछ, ऐया गर्छ, बिरामी ऐया र आत्था गर्दा तपाई हाँस्नसक्नुहुन्न । बिस्तारै नहाँस्ने लत नै बस्यो होला । तर तपाईँहरूको अनुहारमा हाँसो आवश्यक छ । तपाईँहरू हाँस्दा बिरामीले पनि राहत महसुस गर्छ ।’

संवेदनशील पेशा भएकाले नर्सहरुमा धैर्यता जरुरी रहने उनले बताए । ‘तपाईँहरू यो पेशामा आउँदाखेरि नै यो पेशाका चुनौती के–के हुन् भन्ने थाहा पाएरै आउनुभएको छ । त्यसैले जस्तोसुकै बेलामा पनि धैर्याता चाहिन्छ । तपाईँहरूको सानो लापरबाहीले एक जनाको ज्यान जानसक्छ । उसका बालबच्चा टुहुरा हुनसक्छन् र आफन्तले परिवारको सदस्य गुमाउँछन् । त्यसैले नर्सहरुको काँधमा ठुलो अभिभारा हुन्छ ।’

सङ्घीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहको समन्वयमा विद्यालयमा समेत नर्स राख्नेगरी योजना अघि बढिरहेको भन्दै यस कार्यले नर्सहरुका लागि पनि रोजगारीका थप ढोकाहरु खुल्ने उनले बताए । ‘मैले मन्त्री भएपछि पहिलो निर्णय न्यूनतम स्वास्थ्य सेवा मापदण्ड कार्यान्वयन गर्ने विषयमा हस्ताक्षर गरेको छु । नर्स र बिरामीको कुरा त्यसैमा पर्छ,’ उनले भने ।

दक्ष नर्सहरुले राम्रो सेवा–सुविधा पाएर विदेशमा रोजगारी गर्नु सकारात्मक पाटो रहेको उनले बताए ।  ‘हामी संसारको जुनसुकै कुनामा गएर भएपनि जागिर गर्दा हुन्छ । तर हामी दक्ष हुनुपर्‍यो । हामीले पाउने सेवा सुविधा त्यही मापदण्डको हुनुपर्‍यो । आज विदेशीहरु नेपालमा आएर जागिर खाइरहेका छन् । हामी पनि जान हुन्छ,’ उनले भने,‘तर श्रमको न्यून मूल्य लिएर जाने कुरा उचित हुँदैन । देशमा रोजगारी नपाएर परिवार छाडेर जानुपर्ने बाध्यता ठिक हुँदैन भन्नेमा म दृढ छु । दक्ष भएर विदेशमा राम्रो सेवा दिने र पैसा नेपाल लिएर आउने कुरा भने सकारात्मक हो ।