पोखरामा जल्दै गरेको अवस्थामा दुई जनाको उद्धार

सुनियोजित घटना भएको संगीताका श्रीमानको आरोप

0
Shares

पोखरा महानगरपालिका १३ स्थित काहुँखोलको एक घरमा जलिरहेका दुई जनको उद्धार गरिएको छ । आइतबार बिहान घटना भएको हो । मादी ताप्राङ घर भई काहुँखोलामा स्टेसनरी पसल गर्दै आएका ४५ वर्षीय  कृष्ण बहादुर क्षत्री र सोही घरकी घर धनी संगीता सापकोटा जलिरहेको अवस्थामा छिमिकीले उद्धार गरी  अस्पताल पुर्‍याएका हुन् । संगीताको अवस्था गम्भीर  रहेको छ भने कृष्णको अवस्था मध्यम रहेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी सुवाष तिमिल्सिनाले महिलाको अवस्था गम्भीर भएको बताए । उनका अनुसार पुरुषले आफूले आत्महत्या गर्दा संगीता बचाउन आएको बयान दिएका थिए । ‘पुरुषले म डिप्रेसनमा थिए । उहाँ (संगीता)ले मलाई बचाउन आउँदा उल्टै जल्नु भएको हो भनेका छन्’ उनले भने,‘हामीले अहिलेसम्म आत्मदाह प्रयास नै बुझेका छौँ तर अनुसन्धान भने हुनेछ ।’ उनले घटनाको बारेमा विभिन्न दृष्टिकोणबाट अनुसन्धान हुने समेत बताए । ‘हामीले विभिन्न कोणबाट अनुसन्धान गर्छौ । उनीहरुको पारिवारिक सम्बन्ध, घटनास्थल लगायत विविध कुराहरु छन्’ उनले थपे,‘अनुसन्धान भन्दा पहिलो प्राथमिकता भनेको दुवैको ज्यान जोगाउनु हो । घाइतेहरुको उपचारलाई प्राथमिकता दिनुपर्छ बाकिँ अनुसन्धानका पाटाहरु हुन्छन् ।’ उनले घाइतेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको बताए ।

जलिरहेका दुवै जनाको उद्धारमा खटिएका रामचन्द्र सापकोटा र बुद्धि बहादुर सापकोटाले नग्न अवस्थामा जलेको देखिएको सुनाए । सोही स्थानमा व्यवसाय सञ्चालन गर्दै आएका रामचन्दैले आफूले घरबेटीलाई मात्र देखेको तर कृष्ण क्षत्रीलाई नदेखेको बताए । ‘म पसल खोल्न खोज्दै थिए एक्कासि महिला चिच्याएको आवाज आयो ।

आवाज आएको तिर हेर्दा आगो बलिरहेको देखे । त्यसपछि चिच्याए गुहार माग्दै आगो लागेको तिर दगुरे’ उनले भने, ‘म पुग्दा चेन गेट खुल्ला थियो तर जालीवाला ढोका चाहिँ चुकुल लगाएको थियो । अर्को भाइ आयो अन्डर ग्राउन्ड खुल्ला थियो र त्यहाँबाट माथि जाँदा पनि ढोका रहेछ त्यो पनि बन्द थियो । मैले जालीवाला ढोकालाई लात्तीले हानेर फोडे त्यहाँ पुग्दा नाङ्गै शरीरमा आगो रन्किएको देखे ।’ त्यति बेलासम्म संगीता ठाडै जलिरहेको उनको भनाइ छ ।

आगो नियन्त्रणमा लिएपश्चात् अस्पताल लैजानका लागि ट्याक्सी लिन गएको र आउँदा अर्का व्यक्ति पनि जलेको भेटिएको उनले बताए । ‘आयो नियन्त्रणमा लिएपछि ट्याक्सी लिएर आउँदा दुई जना रहेछन् । मैले कृष्ण क्षत्री दाइलाई देखेको थिएन । उहाँ वाथरुपमा हुनुहुँदो रहेछ । कपडा केही थिएन । बाहिर हिँडेरै आउनुभयो’ उनले भने, ‘ भित्री वस्त्र मात्रै लगाएको अवस्थामा जलिरहेको थियो आवाजले घरबेटी भन्ने थाहा पाए । घटना हेर्दा बाथरुममा आगो लगाएर आएको जस्तो देखिन्छ तर ठ्याक्कै थाहा भएन ।’ उनीहरुलाई अस्पताल लगेपछि भित्र कसैलाई जान नदिएको र प्रहरीलाई फोन गरेको उनले सुनाए । घटना बिहान ६ बजेदेखि साढे ६ बजेभित्र भएको उनको भनाइ छ ।

यस्तै अर्का उद्धारकर्ता बुद्धि बहादुर सापकोटाले महिलाको शरीरमा लागेको आगो नियन्त्रण गरेपछि बाथरुममा समेत आगो लागेको देखेको बताए । उक्त स्थानमा पुग्दा पुरुष जलिरहेका अवस्थामा आफैलाई बाल्टीबाट पानी हालिरहेको भेटेको उनले सुनाए । ‘सुरुमा एक जनालाई मात्रै देख्यौ । उहाँको शरीरमा लागेको आगो निभाएपछि अस्पताल लैजानका लागि दाइ (रामचन्द्र) ट्याक्सी खोज्न जानुभयो । पछि भित्र आगो बलेको देखे । जाँदा बाथरुम रहेछ । त्यहाँ कृष्ण दाइ जलिरहनुभएको थियो’ उनले भने, ‘उहाँ पनि भित्री वस्त्र मात्रै लगाएको नग्न अवस्थामा हुनुहुन्थ्यो । सायद कपडा जलेको भएर खोल्नुभएको होला । आफैलाई बाल्टीबाट पानी खन्याउँदै हुनुहुन्थ्यो । सुरुमा थोरै पानी हाल्दा आगो झन् बल्यो त्यसपछि बाल्टी भरेर पानी खन्याए । आगो निभ्यो ।’ बुद्धिका अनुसार कृष्णको हात, खुट्टा र अनुहार जलेको छ । संगीताको भने शरीर पुरै जलेको छ ।

उता संगीताका श्रीमानले भने आफू मर्निङ वाल्क गएको १० मिटेनमा घटना घटेको बताए । उनले घटनाको बारेमा कृष्णले आत्मदाहको प्रयास भने पनि त्यसो नभएको उनको भनाइ रहेको छ । उनले आफ्नो श्रीमतीको हत्या गर्न खोजेको आरोप लगाए ।

‘तप्राङ गएको मान्छे किन आएको । मर्नै मन भए मादी तिरै गएको भए हुने यहाँ किन आएको ? अहिले मर्न पाइन भनेर होइन की मार्न पाइन भनेर पश्चताप गरेको छ त्यसले (कृष्ण क्षत्रीले) । मार्ने षडयन्त्रका साथ उनी आएको उनको आरोप छ ।

घटना कृष्ण बसेको कोठामा भएको हो । घरधनी संगीता पहिलो तलामा बस्छिन् । संगीताका श्रीमानका अनुसार कृष्णको परिवारसँग पारिवारिक नाता जस्तै सम्बन्ध रहेको बताउँछन् । उनले कृष्णका छोराछोरी आफ्नो घरमा आउने खाना खाने समेत गर्ने गरेको बताए ।