आजकाे मौसम पूर्वानुमान : आंशिक देखि सामान्य बदली

0
Shares

काठमाडौं । 

आज मौसम आंशिक बदली रहने छ भने भोलि र पर्सि देशको पश्चिमी भू-भागमा वर्षा तथा हिमपातको सम्भावना छ । अहिले बिहान तराईका भू-भागमा हुस्सु/कुहिरो लागेको छ भन बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ।

आज दिउँसो प्रदेश नं १ मा आंशिक बदली रहने छ भने राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

भोलि (आइतबार) दिउँसो र राति आंशिकदेखि सामान्य बदली रही सुदुरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैगरी (सोमबार) पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपात हुनेछ ।

सोमबार राति भने सुदूरपश्चिम, कर्णालीका साथै लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । यस्तै देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हिमपातको सम्भावना छ ।