मेनइङ्गेज नेपालको ‘साथी’ सचिवालय

84
Shares

काठमाडौं ।

मेनइङ्गेज अलायन्स नेपालको शुक्रबार काठमाडौंमा बसेको साधारण सभाले महिला अधिकार र लैङ्गिक समानताका पक्षमा दशकौंदेखि सक्रिय संस्था साथीको संयोजकत्वमा सात सदस्यीय नेपाल च्याप्टर निर्वाचित गरेको छ ।

यसअघि बाल सरोकार केन्द्र (सिविन) ले मेनइङ्गेज अलायन्स नेपाल च्याप्टरको सचिवालय सञ्चालन गर्दैआएको थियो । सामान्यत: दुई–दुई वर्षमा सचिवालयको संयोजन नेतृत्व परिवर्तन हुने प्रचलन रहेपनि कोभिड महामारीका कारण चार वर्षपछि साधारण सभा आयोजना गर्नसकिएको हो ।

साथीको साथ ६ अन्य संस्था पनि सचिवालय सदस्यका रुपमा निर्वाचित भएका छन् । निर्वाचित अन्य संस्थामा हामी दाजुभाइ, सञ्चारिका समूह, युनाइटेड मिसन टु नेपाल, युथ एड्भोकेसी नेपाल, दलितका हकमा समर्पित संस्था फेडो र अपांगता भएका व्यक्तिको अधिकारमा काम गर्दैआएको संस्था एनपिडी छन् ।

साधारण सभाको अन्त्यमा निवर्तमान सचिवालय संयोजक माधव प्रधानले साथीका अभियन्ता शुभेच्छा राणालाई खातापाता हस्तान्तरण गरेर सफल कार्यकालको शुभकामना दिनुभयो ।

सन् २००७ देखि सक्रिय मेनइङ्गेज अलायन्स नेपाल मेनइङ्गेज अलायन्स साउथ एशियाको सदस्य रहेको छ । मेनइङ्गेज अलायन्स साउथ एशियामा भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका पनि सदस्य रहेका छन् । पितृसत्ता र पुरुषत्वका विकृतिहरुविरुद्ध आवाज उठाउँदै आएको एलायन्सको ग्लोबल संरचना छ । यसको केन्द्रीय कार्यालय अमेरिकाको वासिंगटनमा छ ।