प्रेमप्रसाद आत्मदाह प्रकरण : छानबिन समिति गठन

0
Shares

काठमाडौं । विभिन्न व्यक्ति तथा उद्योगीबाट प्रताडित भएपछि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यले सामाजिक सञ्जालमा उठाएका विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरिएको छ ।

बिहीबार गृह मन्त्रायका सह–सचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ । अर्थ मन्त्रालयका उपसचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव, श्रम रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयका उपसचिव, नेपाल प्रहरीबाट प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक सदस्य रहने गरी समिति गठन भएको छ ।

आत्मदाहको प्रयास गरेका आचार्यले सामाजिक सञ्जालमा उठाएका सबै विषयमा यथाशीघ्र छानबिन गरी प्रतिवेदन तयार पार्न र त्यससम्बन्धमा सरकारले के के गर्नुपर्ने हो सुझाव तयार पारी प्रतिवेदन पेस गर्न समितिलाई कार्यादेश दिइएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार आत्मदाहको प्रयास गरी घाइते भएका र उपचारको क्रममा बुधबार बिहान मृत्यु भएका आचार्यको विषयमा छानबिन गर्न र यथाशीघ्र प्रतिवेदन तयार पार्न गृह मन्त्रालयलाई जिम्मेवारी दिएको थियो ।

आचार्यको निधनपछि अहिले विभिन्न संघसंस्थाले राज्यको चरित्रको बारेमा प्रश्न गर्दै आचार्यले उठाएका विषयमा सम्बोधन गर्न आग्रह गर्न थालेका छन् । अहिले देशभरबाट आर्चायले आफूलाई प्रताडित गर्नेमाथि कारबाही गर्न माग गरेका छन् ।

संसद् भवन अगाडि सामाजिक सञ्जालमा व्यावसायिक जीवनका भोगाइको वेदना उल्लेख गरी इलामका प्रेम आचार्यले शरीरमा आगो लगाई मृत्यवरण गर्नु र विराटनगरका इलेक्ट्रिक व्यवसायी मोहन निरौला र केही महिनाअघि लहान, पर्सा, नेपालगन्जमा समेत बैंकिङ आतंकका कारण आत्महत्या गरेका घटनाहरूले समग्र निजी क्षेत्र मर्माहत भएको नेपाल उद्योग वाणिज्य संघ काठमाडांैले उल्लेख गरेको छ ।
सामाजिक सञ्जालमा बैंकको वित्तीय संस्थाका दबाब र अन्यायका धेरै कुराहरू आइरहेको र यस्ता अप्रिय घटना हुन नदिन व्यवसायीको मनोबल वृद्धि गर्न राज्यका सबै निकायले आर्थिक क्षेत्रसँग सम्बन्धित नीति, नियम, ऐन, कानुन, निर्देशन, परिपत्र कार्यान्वयन गर्न सक्ने गरी, सकारात्मक र उद्योग, वाणिज्य मैत्री बन्नुपर्ने माग उठाएको छ ।

यसैबीच सामाजिक अभियन्ता स्वागत नेपालले आत्मदाह गर्नुअघि आचार्यले नाम लिएका व्यक्ति तथा संस्थाविरुद्ध आत्महत्या दुरुत्साहन जाहेरी दिनुभएको छ । आचार्यले नाम लिएका व्यक्ति र संस्थाविरुद्ध अभियन्ता नेपालले प्रहरी परिसर काठमाडौंमा आत्महत्या दुरुत्साहनको जाहेरी दिएको जानकारी दिनुभएको छ । आत्महत्या दुरुत्साहनको कसुरमा जाहेरी परेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिनुभयो ।