राष्ट्रपति भण्डारी राजाजस्तै : पूर्वप्रधानन्यायाधीश कार्की

0
Shares

काठमाडौँ ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारी राजा जस्तै भएको टिप्पणी गरेकी छन् । बिहीवार काठमाडौंमा नेपाल कानून समाजलगायतका संस्थाले संयुक्त रुपमा आयोजना गरेको आम निर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदन सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीमा बोल्दै पूर्व प्रधानन्यायाधीश कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका कारण आफूले दुःख पाएको भन्दै असन्तुष्टि व्यक्त गरेकी हुन् ।

आयोगको कार्यक्रममा आउँदा राष्ट्रपतिको सवारीका कारण आफू लामो बाटो घुमेर आउनुपरेको कार्कीले उल्लेख गरिन् । उनले राजाले ठिक गरेनन् भनेर आउने मान्छेहरु पनि राजा जस्तै भएको टिप्पणी गरिन् ।

पूर्व प्रधानन्यायाधीश कार्कीले पुराना प्रतिनिधिहरुको मानसिक विकास हुन नसकेको भन्दै गत निर्वाचनबाट युवाहरु आउनु सकारात्मक भएको बताइन् । राम्रो व्यक्तिहरुलाई प्रतिनिधि बनाउन सकिएमा मुलुकले राम्रो बाटो पाउने उनले बताइन् ।

‘यस वर्षको निर्वाचनबाट के देखिएको छ भने हाम्रो नातिनी उमेरकाहरु अहिले देखा परे । थोरै रुपमा मुठीभरमा थोरै युवा र युवतीहरु देखा परेका छन् अहिले । त्यो प्रयास भएको छ । पुराना प्रतिनिधिहरुको मानसिक विकास हुन नसकेको अवस्था छ ।’उनले भनिन्, ‘राष्ट्रपतिबाट मैले पनि दुःख पाएँ । कहाँबाट म आउनुपर्ने, सर्टकट नजिकमा आउनुपर्ने धेरै घुमेर आएको हुँ म पनि आज । राजाले ठिक गरेनन् भनेर आउने मान्छेहरु राजै जस्तो भए । यो मानसिकता जाने भनेको यही चुनावले हो ।’

उनले गत निर्वाचन शान्तिपूर्ण रुपमा भएको बताइन् । निर्वाचनबाट पुरानो मानसिकताहरु फिल्टर हुँदै गएको भन्दै उनले नयाँ सोचाई भएका कर्मठ युवा, युवतीहरु आगामी दिनमा अझ आउनुपर्ने बताइन् ।