धार्मिक पर्यटन प्रवर्द्धन गर्न शक्ति पीठको संरक्षण जरुरी  : उप–प्रधानमन्त्री लिङ्देन

0
Shares

बुटवल। 

उप–प्रधान तथा ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र प्रसाद लिङ्देनले मुलुक भित्र हुने धार्मिक कार्यक्रमहरूले धार्मिक पर्यटनमा वृद्धि गर्नुका साथै पर्यटन प्रवर्द्धनमा समेत महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

नेपालका प्रथम जगद्गुरु बालसन्त मोहन शरण देवाचार्य महाराजको पहलमा भैरहवामा जगद्गुरुपीठ निर्माणको लागि श्रीमद्भागवत सप्ताहज्ञान महायज्ञको पूर्ण आहुति कार्यक्रममा बिहीबार उप–प्रधानमन्त्री लिङ्देनले नेपालमा गुरु पण्डितहरु पनि हिन्दु धर्मको पक्षमा खुलेर बोल्ने डराएको बताउनु भयो ।
यस्तो अवस्थामा पनि आफू अडिग भएर हिन्दुधर्मको पक्षमा लागेको बताउनु भयो । उहाँले यस्ता हिन्दुत्व सम्बन्धी कार्यक्रम तथा धार्मिक कार्यक्रमहरूले आफूलाई आनन्द दिने गरेको समेत बताउनु भयो ।

लुम्बिनी तथा यस आसपास आउने धार्मिक पर्यटकलाई लक्षित गरी भैरहवा नजिकै शक्ति पीठको स्थापनाको काम अगाडी बढाइएको छ ।
ओमसतिया गाउँपालिका वडा नम्बर ४ वसन्तपुरमा रहेको नवदुर्गा मन्दिरलाई बालसन्त मोहन शरण देवाचार्यले चौथो शक्ति पीठको रुपमा स्थापना गर्ने उद्देश्य सहित महायज्ञको आयोजना गरिएको महायज्ञ मूल आयोजक समितिका संयोजक विष्णु रायमाझीले बताउनु भयो ।

पूर्वमा चतराधाम बराहक्षेत्रमा प्रथम जगद्गुरुपीठ, दोस्रो शारदा पीठ महाकाली, तेस्रो निलाद्री पीठ मुक्तिनाथ क्षेत्र जोमसोम स्थापना भइसकेको र चौथो भैरहवा पीठ स्थापना हुने चरणमा रहेको बताइएको छ । यो पीठ जगदगुरुको अन्तिम पीठ हुने रायमाझीले बताउनु भयो ।

महायज्ञमा रेडियो नेपालका पूर्व निर्देशक एवं धार्मिक कार्यक्रमका ख्याति प्राप्त विद्वान आचार्य पुरुषोत्तम सापकोटा र कथा प्रवचन एवं भागवताचार्य कथा व्यास डा. यादव शरण गड्तौलाका मुखारविन्दबाट पाठ—पारायण भइरहेको महायज्ञ मूल आयोजक समितिले जनाएको छ । पशुपतिनाथ, मुक्तिनाथ, स्वर्गद्धारी, लुम्बिनीलगायत नेपालका धार्मिक स्थल दर्शन गर्न आउने लाखौँ भारतीय भक्तजनलाई नि:शुल्क आवास र खानाको सुविधा सहित भैरहवा पीठ सञ्चालनको लक्ष्य राखिएको छ ।

यस्तै कार्यक्रमका मुख्य वाचक बालसन्त मोहन शरण देवाचार्य महाराजले संसदबाट नै हिन्दुधर्मको पक्षमा बोल्न आग्रह गर्नु भयो । उहाँले हिन्दु राज्यमा अन्य धर्मका नेपालीहरु पनि सुरक्षित महशुश गरेको बताउँदै ती सबैको चाहना पनि नेपाल हिन्दु राज्य नै हुनु पर्ने जिकिर गर्नु भयो ।