आत्मदाहको निर्णय फेर्न सकेनौँ, दोषी छौँ : गृहमन्त्री लामिछाने

0
Shares

काठमाडौं ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिमा आफूहरुको आगमनले पनि युवामा उत्साह थप्न नसकेको बताएका छन् ।
नयाँबानेश्वरमा मंगलबार प्रेमप्रसाद आचार्यले आफ्नो शरीरमा आगो लगाएको घटनालाई लिएर गृहमन्त्री लामिछानेले राजनीतिमा आफूहरुको आमगनले समेत युवाहरुमा उत्साह थप्न नसकेको स्वीकारेका हुन् ।

आत्मदाहको निर्णय हिजो देखिको निराशा र  पिडाको परिणाम  भएको बताउँदै उनले आफूहरु जस्ता नयाँ पुस्ताहरुको आगमनले समेत उत्साह थप्न, आशा जगाउन नसक्दा आत्मदाहको निर्णय फेर्न नसकेको बताएका छन् ।

यसमा आफूसमेत दोषी रहेको गृहमन्त्री लामिछानेको भनाइ छ ।  ‘म दोषी छु। प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं,  हामीलाई  माफ गर्नु होला,’ सामाजिक सञ्जाल फेसबुकमा गृहमन्त्री लामिछानेले लेखेका छन् ।

उपचारका क्रममा प्रेमप्रसाद आचार्यको निधन भएपछि उनले उनको मृत्युमा आफू पनि दोषी रहेको बताएका हुन् ।

उपप्रधान तथा गृहमन्त्री लामिछानेले लेखेका छन् :

एउटा नागरिकले  अत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र । यस्तै परिस्थितिका कारण शान्त विद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौँ । मलाई थाहा छ, आत्मदाहको निर्णय हिजोदेखिको निराशा र  पीडाको परिणाम  हो । दुःख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरुको आगमनले समेत तपाई‌ंमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन । यसमा हामी दोषी छौं, म दोषी छु । प्रेम आचार्यजी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईंमा आशा जगाउन सकिनौं,  हामीलाई  माफ गर्नु होला। तपाईंको आत्माले चीरशान्ति पाओस्, परिवारलाई यो पीडा सहने शक्ति मिलोस्।