आचार्यद्वारा संसद् भवन अगाडि आत्मदाहको प्रयास

0
Shares

काठमाडौं । बाँच्नका लागि गरेको संघर्षले सफलता नपाएपछि एक युवकले राजधानीको बानेश्वरमा मंगलबार आफैंमाथि आगो लगाएर आत्महत्याको प्रयास गरेका छन् ।

‘जीवन संघर्ष हो बाँच्नका लागि संघर्ष गर्नु पर्दछ’ भन्ने मान्यता राख्दै आएका इलाम सूर्योदय नगरपालिका १ का प्रेमप्रसाद आचार्यले आत्महत्याको प्रयास गर्नुभएको हो ।

आत्मदाहको प्रयास गर्नुअघि आर्चायले झण्डै ३ हजार शब्द लामो आफ्नो भावना सामाजिक सञ्जालमा व्यक्त गर्दै नयाँ बानेश्वरस्थित संसद् भवन अगाडिको सडकमा आएर आफ्नो शरीरमा आफैंले आगो लगाउनुभएको थियो ।

आफूले गरेको व्यापार व्यवसायले पनि सफलता हात नपारेको र जति काम गर्दा पनि विभिन्न समूहबाट आफू ठगिएकोले आत्मदाहको प्रयास गरेको उहाँले सामाजिक सञ्जालमा लेखेको भनाइले पुष्टि गरेको छ ।

सुन्दर सपना बोकेर काठमाडौं भित्रिएका आचार्यले शुरूमा जागिर खाएर संघर्ष शुरू गरेको र पछि काम सिक्दै गएपछि आफैंले कम्पनी खोलेर शुरू गरेको व्यवसायमा समेत घाटा खाएपछि देश नै छोडेर विदेसिनु परेको कथासमेत उहाँले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

विदेशमा गएर काम गरेर कमाएको पैसाले नेपालमा रहँदा आफूले लिएको ऋण तिरेर पुनः नेपाल फर्किएको र बचेको पैसाले पुख्र्यौली थलोमा नै बसेर व्यापार व्यवसाय सञ्चालन गरेको भए पनि विभिन्न बहानामा आफू ठगिएको उहाँले उल्लेख गर्नुभएको छ । गरी खान्छुभन्दा पनि विभिन्न बहानामा आफू ठगिएपछि मर्ने विचार गरेको समेत आर्चायले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भनाइमा उल्लेख छ ।

आगोले जलेर सख्त घाइते भएका आचार्यको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार भइरहेको छ ।