मणिवाला सर्पसँग सुनका गहना साट्ने लगायत अन्य घटनामा संलग्न विदेशी नागरिकसहित ३४३ जना पक्राउ

0
Shares

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानबाट मणिवाला सर्पसँग सुनका गहना साट्ने लगायत अन्य विभिन्न घटनामा संलग्न तीन सय ४३ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । ती अभियुक्तहरूलाई प्रहरीले प्रक्राउ गरेको नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले आज (मंगलबार) जानकारी दिएको छ ।

बाराका विभिन्न मुद्दाका तीन सय ३२ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । हिजो (सोमबार) जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

अदालतबाट फैसला कार्यान्वयनको लागि प्राप्त फरार प्रतिवादीहरूलाई जिल्लाका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

त्यस्तै बैकिङ्ग कसुर मुद्दा, हातहतियार खरखजाना लगायतका मुद्दामा कैद तथा जरिवाना फैसला भई फरार प्रतिवादीहरूमध्ये ३६ जनालाई थुनामा राख्न पर्सा कारागार कार्यालय चलान गरिएको छ । बाँकी भने जरिवाना भुक्तान गरी मुक्त भएका छन् ।

त्यस्तै काठमाडौंबाट भारतीय रुपियाँसहित ईटालियन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो जिल्लाको काठमाडौं महानगरपालिका–९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई लाख १४ हजार भारतीय रुपियाँसहित ईटालियन नागरिक रोबर्ट मिगानीलाई प्रहरीले पक्राउ गरेको हो ।

ईन्डिगो एयरको उडान नम्बर ६ ई ३२ द्वारा काठमाडौंबाट दिल्ली हुँदै गोवा जान लागेका रोबर्टलाई विभिन्न दरको उक्त भारतीय रुपियाँसहित प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन पुल्चोक ललितपुर पठाइएको छ ।

त्यस्तैगरी मोरङको सुन्दरहरैचा नगरपालिका–५ बाँसबारीस्थित यातायातको ट्रायल सेन्टरमा अर्काको नाममा ट्रायल दिनेलाई प्रहरीले पक्राउ गरेको छ । हिजो (सोमबार) दिउँसो ट्रायल दिन लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सुनसरी भोग्राहा गाउँपालिका–७ बस्ने ३३ वर्षीय षडानन्द महतो र २५ वर्षीय रामचन्द्र यादव रहेको प्रहरी चौकी गछियाले जनाएको छ ।

षडानन्द महतोको नाममा यादवले मोटरसाइकलको ट्रायल दिने क्रममा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले फेला पारी उनीहरूलाई प्र.१–०२–०४५ प ९४३ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पर्साको कालिकामाई गाउँपालिका–१ मुडलीस्थित नहरबाट अवैध लागूऔषध गाँजा ७ केजीसहित भारत नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ भारत घर भएका ५० वर्षीय शम्भु सहनीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कालिकामाईले जनाएको छ ।

कालिकामाईबाट खटिएको प्रहरी टोलीले बीआर २८ के ४९१९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको गरेको हो ।

कञ्चनपुरको भिमदत्त नगरपालिका–४ बसपार्कस्थित दैलेख शाही खाजा घरबाट अवैध लागूऔषध चरेस ९० ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो सोही नगरपालिका बसपार्कमा खाजा घरको सञ्चालन गर्दै आएका सञ्चालक २६ वर्षीय बिक्रम शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनलाई उक्त लागूऔषधसहित शाहीलाई पक्राउ गरेको हो ।

त्यसैगरी कञ्चनपुरको पुनर्वास नगरपालिका–१ ढक्काबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्राम ५८ मिलिग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राति बेलौरी नगरपालिका–३ खिरिया बस्ने २८ वर्षीय राम अवतार रानालाई प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले सु.प.प्र.०१ ०१० प ३३५० नम्बरको मोटरसाइकललाई जाँच गर्नेक्रममा उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको छ ।

बाँकेको नेपालगंज उपमहानगरपालिका–२२ स्थित बाबा बुटिकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ १२ ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो सोही उपमहानगरपालिका–१४ बस्ने २३ वर्षीय महेश भाटलाई प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

मकवानपुरको मनहरी गाउँपालिका–८ दारिमबासबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब १ केजीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो पर्सा पटेर्वा सुगौली गाउँपालिका–८ बस्ने ५० वर्षीय शेख भिखारीलाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले बा.४ ख ५१४८ नम्बरको यात्रुबाहक बसलाई जाँच गर्नेक्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको छ ।

झापा, मेचीनगर नगरपालिका–८ पालिया गंगा टोलबाट अवैध लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ ३० ग्राम, नगद २५ हजार ५ सय रुपियाँ र ३ थान मोबाइलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सोही ठाउँ बस्ने ३६ वर्षीय आसिर खाँलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरीले खाँलाई उनकै घरबाट उक्त लागूऔषध र नगदसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

दाङबाट मणिवाला सर्प हो भन्दै करिब १ तोला सुनको गरगहना र नगद १ हजार रुपियाँ ठगी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो (सोमबार) साँझ सर्प बेच्दै हिँड्ने सुनसरी रामधुनी नगरपालिका–३ बस्ने ३५ वर्षीय मोहमद सलमानलाई दाङ लमही नगरपालिका– ९ जलकुम्भीबाट प्रहरीले.पक्राउ गरेको हो ।

बाँके राप्ती सोनारी गाउँपालिकाकी एक महिलालाई सलमानले मणिवाला सर्प हो भनी लोभलालच देखाई धनमाल ठगी गरेको खुल्न आएपछि पीडितका आफन्तको सहयोगमा ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश १–०२–०४६ प ४८९९ नम्बरको मोटरसाइकलसहित उनलाई पक्राउ गरेको हो । प्रहरीले हाल फरार सलमानसँग आएका अन्य २ जनाको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

झापाको अर्जुनधारा नगरपालिका–४ स्थित जुकेखाडी सामुदायिक वनबाट १ नाल भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो सोही ठाउँ बस्ने १५ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको हो ।

वन उपभोक्ता समितिका पदाधिकारी र सशस्त्र प्रहरी बेस खुदुनाबारीबाट खटिएको संयुक्त टोलीले करिब १० जना युवाहरुको समूहलाई नियन्त्रणमा लिन खोज्दा भरुवा बन्दुक छोडेर भाग्ने क्रममा ती किशोरलाई नियन्त्रणमा लिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

प्रहरीले हाल फरार अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।