प्रअसहित पाँच शिक्षक अनुपस्थित भएको भन्दै विद्यार्थीले लगाए विद्यालयमा ताला

0
Shares

खोटाङ।

प्रअसहित पाँच शिक्षक अनुपस्थित भएको भन्दै खोटाङको हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित ज्योती माबिका छात्र/छात्राले विद्यालयमा ताला लगाएका छन् ।

गत पुस १७ गतेदेखि बिदा दिइएको विद्यालय माघ ३ गतेदेखि खुले पनि प्रअ रामदेव यादवसहित पाँच शिक्षक अनुपस्थित भएको भन्दै छात्र/छात्राले ताला लगाएका हुन् ।

हिउँदे विदा सकिए पनि प्रअ र शिक्षक आइनपुगेपछि विद्यार्थीले ५ गते विद्यालयमा ताला लगाएको राजापानीका वडाध्यक्ष अनिस कार्कीले बताए । स्वयं विद्यार्थीले ताला लगाएपछि पठन–पाठन ठप्प बनेको छ ।

माघ २ गतेदेखि खुल्नुपर्ने विद्यालय पोखरामा भएको विमान दुर्घटनाका कारण माघ ३ गतेदेखि खुलेको थियो । विद्यालय खुल्दा पनि विद्यालय नआएका शिक्षकलाई स्पष्टीकरण सोध्ने तयारी गरिएको छ ।

शुक्रबार विद्यालयमा उपलव्ध शिक्षकमार्फत पठनपाठन सुचारु गर्न आग्रह गर्दा विद्यार्थीले अस्वीकार गरेको वडाध्यक्ष कार्कीले बताए । ताला हालिएको विद्यालय खुलाउने विषयमा सोमबार छलफलको तयारी गरिएको छ । प्रअ यादवमाथि विद्यालय प्रशासन फितलो तरिकाले सञ्चालन गरेको आरोप छ ।

प्रअ यादवले राष्ट्रिय परीक्षा बोर्डको कार्यालय लाहान पुगेर कक्षा ११ को परीक्षा फर्म र कक्षा १२ को राजस्व बुझाउने काम लिएर घर गएकाले विद्यालय फर्कन ढिलाइ भएको बताए । उनले शिक्षक रामशंकर यादवलाई मौखिक रूपमा प्रअको जिम्मेवारी दिइएको बताए ।