बारा।
सिम्रौनगढबाट हटाइएको छोटी भन्सार कार्यालय पुनर्स्थापन र मालपोत तथा नापी शाखाको काम सुचारु हुनुपर्ने माग गर्दै सिम्रौनगढ उद्योग वाणिज्य संघले जिल्ला प्रशासन बारामा शुक्रवार ज्ञापनपत्र बुझाएको छ ।
संघका अध्यक्ष लालबाबु प्रसाद कुशवाहाको नेतृत्वमा बारा उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साहसहित गएको टोलीले प्रजिअ कृष्णबहादुर कटुवाललाई भेटेर ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा बारा जिल्लाको प्रमुख ठूला बजारमध्ये एक मानिने सिम्रौनगढबाट छोटी भन्सार कार्यालय विस्थापित हुँदा र मालपोत तथा नापी कार्यालयबाट सेवा सुचारु नहुँदा स्थानीय व्यवसायी र सर्वसाधारणले समस्या बेहोर्दै आएको जनाइएको छ ।
अध्यक्ष कुशवाहाले हस्ताक्षर गरेको पत्रमा भन्सार कार्यालय तत्काल पुनर्स्थापना र मालपोत कार्यालयबाट सेवा सुचारु नगरिए आन्दोलनमा उत्रिने चेतावनी समेत दिइएको छ ।
यस अघि गत बुधवार भएको संघको बैठकले प्रमुख जिल्ला अधिकारीलाई मागसहित ज्ञापनपत्र बुझाउने र बेवास्ता गरिए सिम्रौनगढ बजार अनिश्चित कालसम्मको लागि बन्द गर्ने निर्णय गरेको थियो ।
भारतीय नाकासँग सीमा जोडिएको सिम्रौनगढमा माओवादीद्वन्द ताका ०५९ सालमा सुरक्षाको कारण देखाउँदै छोटी भन्सार हटाइएको थियो भने १ वर्षअघि स्थापना गरिएको मालपोत र नापी शाखा कार्यालयमा अहिलेसम्म पनि सेवा सुचारु हुन सकेको छैन । गत वर्षको तत्कालीन भूमिसुधार मन्त्री शशी श्रेष्ठले निक्कै ठूलो तामझामका साथ सिम्रौनगढमा मालपोत र नापी शाखा कार्यालयको उद्घाटन गर्नुभएको थियो ।
प्रतिक्रिया