काठमाडौं।
प्रधान सेनापति प्रभुराम शर्माले भारतीय सेनाका वीरता पुरस्कार प्राप्त गर्ने गोर्खा सैनिकहरूलाई सम्मान गर्नुभएको छ । भारतको ७५ औं सेना दिवसको अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासको रक्षा प्रभागले बुधबार साँझ आयोजना गरेको कार्यक्रममा भारतीय सेनाका मानार्थ महारथी समेत रहेका प्रधान सेनापति प्रभुराम शर्माले वीरता पुरस्कार गोर्खा सैनिकहरूलाई सम्मान गर्नुभएको हो ।
सम्मानित हुनेहरूमा सौर्य चक्र प्राप्त गर्ने पृथबहादुर मगर, सोरमन राई र गोकुल प्रधानका साथै कृति चक्र प्राप्त गर्नुहुने भुपालसिंह छन्त्याल मगर र दिलबहादुर थापा हुनुहुन्छ । पूर्व गोर्खा सैनिक मगरले सन् २००० मा, राईले सन् १९७६ र प्रधानले सन् २००१ मा सौर्य चक्र प्राप्त गर्नुभएको थियो ।
त्यसैगरी पूर्व गोर्खा सैनिक छन्त्यालल मगरले सन् २०१४ मा र थापाले सन् २००२ मा कृति चक्र प्राप्त गर्नुभएको थियो ।
उक्त अवसरमा प्रधान सेनापति शर्माले भारतका सेनाध्यक्ष एवं नेपाली सेनाका मानार्थ महारथी मनोज पाण्डेलाई भारतको ७५ औं सेना दिवसको शुभकामना व्यक्त गर्नुभयो । साथै उहाँले भारतको दोस्रो चिफ अफ डिफेन्स स्टाफको रुपमा नियुक्त हुनुभएकोमा जनरल अनिल चौहानलाई पनि बधाई दिनुभयो । प्रधान सेनापति शर्माले दुई देशका सेनाबीचको गहिरो सम्बन्धको चर्चा गर्दै नेपाली सेनाको क्षमता विकासमा भारतीय सेनाले गरेको सहयोगको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दुई देशलाई भ्रातृवत् सम्बन्धमा जोड्ने भारतीय सेना र नेपाली सेनाबीचको गहिरो ऐतिहासिक साइनोको सम्झना गर्नुभयो । भारतीय सेनामा रही गोर्खा सैनिकले गरेको निःस्वार्थ सेवा र बलिदानप्रति कृतज्ञता प्रकट गर्दै उहाँले भारतीय सेनाका पेन्सनवाला र नेपालमा रहेका उनीहरुका परिवारको कल्याणका लागि भारतले काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
सन् १९४९ जनवरी १५ तारिखका दिन लेफ्टिनेन्ट जनरल (पछि फिल्ड मार्शल) के.एम. करियप्पाले पहिलो भारतीय कमाण्डर इन चिफको रुपमा भारतीय सेनाको कमाण्ड सम्हालेको सम्मानमा प्रत्येक वर्ष भारतीय सेना दिवस मनाईन्छ ।
कार्यक्रममा नेपालका पूर्व सेना प्रमुख, बहालवाला एवं सेवानिवृत्त सेना अधिकृत, कुटनैतिक वृत्तका अधिकारी, नेपाल सरकारका अधिकारी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया