आमा र सौतेनी आमाविरुद्ध हत्या अभियोगमा अनुसन्धान शुरू

0
Shares

डडेल्धुरा । घरेलु हिंसाका कारण डडेल्धुराको आलिताल गाउँपालिका–८ डाँडाखर्कका आठ वर्षीय बालक भरत बोहराले ज्यान गुमाउनुपरेको छ । आमा र सौतेनी आमाको निरन्तरको कुटपिटबाट मृत्यु भएका उनलाई खाल्डोमा पुरिएको अवस्थामा प्रहरीले उत्खनन गरेर शव निकालेको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले निरन्तरको घरेलु हिंसाका कारण विक्षिप्त अवस्थामा रहेकी मृतककी आमा ४३ वर्षीय कलमति बोहरा र सौतेनी आमा ३० वर्षीय जानकी बोहरालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । मृतक बालकका बाबु ४१ वर्षीय गजेन्द्र बोहराको किटानी जाहेरीका आधारमा प्रहरीले हत्या अभियोगमा आमा र सौतेनी आमालाई पक्राउ गरेको हो ।

मृतक बालकको शव पुस ३० गते खाल्टोमा गाडिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । सौतेनी आमा जानकीले आमा कलमतिसमेतको सहयोगमा निरन्तर कुटपिट गर्न थालेपछि मृतक बालक घरमा जानुको साटो छिमेकी दलबहादुर विष्टको घरमा लुकेर बस्ने गरेको स्थानीय बताउँछन् । गत पुस १२ गतेदेखि उनी बेपत्ता भए ।

आफ्नो घरमा नियमित आउने मृतक भरतलाई नदेखेपछि विष्टले घर परिवारमा सोधपुछ गर्दा आमा र सौतेनी आमाले उल्टै विष्टलाई बालकको हत्या गरेको आरोप लगाएका थिए । विष्टले मृतक बालकको खोजबिनका लागि आलिताल प्रहरी चौकीलाई आग्रह गरेपछि प्रहरीले अनुसन्धान गर्दा बालकको हत्या गरेर घरभन्दा करिब ५० मिटर टाढा खाल्डोमा गाडिएको अवस्थामा पुस ३० गते भरतको शव फेला पारेको हो ।

भरतलाई सौतेनी आमा जानकीले सधैं सिस्नोपानी र लठ्ठीले कुट्ने गरेको स्थानीय बताउँछन् । गरिब परिवारमा जन्मिएका भरतलाई खानाभन्दा पनि दिनहुँ कुटाइ मिल्थ्यो । अबोध बालक भरतले निरन्तरको कुटाइका कारण रुन÷कराउन समेत छोडिसकेको स्थानीय बताउँछन् । डरका कारण उनी घर नगएर छिमेकी विष्टको घरमा लुक्ने गरेका हुन् । पुस १२ गते साँझ पनि सौतेनी आमा जानकीले सिस्नोपानी र उखुको लठ्ठीले कुटपिट गरी पानीमा डुबाएर मृतक बालकलाई घरको एक कोठामा अचेत अवस्थामा छोडेका थिए ।

मृतककी आमा कलमतिले प्रहरीसमक्ष दिएको बयानअनुसार राति १२ बजे बालकलाई हेर्दा जिउँदो नरहेको जस्तो लागेपछि जानकीकै सल्लाहमा घरभन्दा ५० मिटर टाढा खाल्टो खनेर भरतको शव खाडलमा गाडिएको हो । निरन्तरको घरेलु हिंसा खप्नुपरेकाले कलमति मानसिक रूपमा विक्षिप्त रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् ।

स्रोतका अनुसार सौता जानकी र श्रीमान् गजेन्द्रले दिएको यातना सहन नसकेर उनी चार÷पाँच वर्ष माइतीघर बसेकी थिइन् । उनका श्रीमान् गजेन्द्र र सौता जानकीले उनलाई मरणासन्न हुने गरी कुटपिट गर्ने गरेको स्थानीय बताउँछन् । जानकीले कलमतिमाथि घरेलु हतियार र लठ्ठीले प्रहार गरेका घाउ अझै उनको शरीरमा देख्न सकिन्छ ।

घटनाले मानवीय संवेदनामाथि नै गम्भीर प्रश्न चिह्न उठाएको बेलामा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले घटनाको विस्तृत अनुसन्धान गरेर वास्तविक तथ्यहरू सार्वजनिक गर्नुपर्ने स्थानीयको माग छ । झन्डै चार वर्ष पहिले बलात्कारपछि जघन्य हत्या गरिएकी शहरी स्वास्थ्य सेवा केन्द्र परशुराम नगरपालिका–८ की अस्मिता धामी हत्या प्रकरणमा अनुसन्धान गर्न असफल रहेको डडेल्धुरा प्रहरीले भरतको हत्यासम्बन्धी तथ्यहरू ल्याउन सक्नेमा भने आशंका गरिएको छ ।

रोजगारको सिलसिलामा भारत रहेका श्रीमान् गजेन्द्रले पनि ‘म घरमा आउँदासम्म तेरो छोरा नमारे तँलाई मार्ने’ भन्दै जेठी श्रीमतीलाई धम्काउने गर्थे । सोहीअनुरूप कलमतिले उनीहरूले सहन नसक्ने यातना दिएपछि बालकलाई कुट्ने गरेको बयान प्रहरीसमक्ष दिएकी छिन् । स्थानीयका अनुसार मृतकका बुबा गजेन्द्रले भारतबाट कान्छी श्रीमती जानकीलाई फोन गरेर बालकलाई कुटपिट गर्न सिकाउने गरेका थिए । उनले सुझाएअनुसार बालकलाई सिस्नोपानी र लठ्ठीले कुट्ने गरेको प्रहरीसमक्ष कलमतिले बयान दिएकी छिन् ।

पुस १२ गते साँझ दुवै सौता मिली बालकलाई सिस्नोपानी र उखुको लठ्ठीले कुटपिट गरेका थिए । कुटपिटबाट अचेत अवस्थामा रहेका बालकलाई आमा कलमतिसँगै सुताइएको थियो । राति १२ बजे बालकलाई हेर्दा जिउँदो नरहेको जस्तो लागेपछि कलमतिले सौता जानकीलाई बोलाएर घटनाको बारेमा जानकारी दिएकी थिइन् । त्यसपछि दुवै मिलेर बालकको शव गाडेको प्रहरीले जनाएको छ ।

कलमतिका मृतकभन्दा जेठा १४ वर्षीय अर्का छोरा पनि रहेको र निजले आमाहरूलाई बालकको बारेमा सोध्दा गाउँमा कसैको घरमा डुल्न गएको हुन सक्ने भन्दै दुवै सौताले घटनालाई सामसुम पार्न खोजेका थिए । बालक हराएको भनी पुस २७ गते मात्रै प्रहरीसमक्ष जानकारी आएको आलिताल प्रहरी चौकीले जनाएको छ । स्थानीयहरू भने बालकलाई कुटपिट र चरम यातना दिने गरेको बारेमा प्रहरीलाई जानकारी दिएको तर प्रहरीले वास्ता नगरको बताउँछन् ।

बालकलाई दिनहुँको चरम यातना बारेमा प्रहरी चौकी आलितालमा छलफल भएको स्थानीय बताउँछन् । गाउँलेले बालकलाई प्रहरीको जिम्मा लगाउँदा पनि प्रहरीले जिम्मा नलिएको आरोप छ । मृतक बालकका शरीरभरि कुटपिटका घाउसहितको तस्वीर तीन महिनाअघि समाजिक सञ्जालमा भाइरलसमेत भएको थियो । प्रहरीले भने बालकलाई कुटपिट गरिएको बारेमा लिखित निवेदन नआएकाले कारबाहीको प्रक्रिया अघि बढाउन नसकिएको जनाएको छ ।

स्थानीय समैजी आधारभूत विद्यालयमा कक्षा १ मा अध्यययनरत बालक बोहराको हत्या प्रकरणमा उनका बाबु गजेन्द्रसमेत दोषी रहेको तर प्रहरीले उनलाई जाहेरीकर्ता बनाएकाले घटना अझ रहस्यमय देखिएको स्थानीय बताउँछन् । मानसिक रूपमा विक्षिप्त मृतककी आमा कलमतिलाई फसाउने गरेर हत्या प्रकरण मोडिने अवस्थामा पुगेको स्थानीयको गुनासो छ ।