पोखरा ।
पाेखरा यती एयरलाइन्सको विमान दुर्घटनामा परेर मृत्यु भएकाको आज चाैथाे दिन २२ जनाकाे शव आफन्तको जिम्मा लगाइएको छ । पोखरामा परीक्षण गरिएका सबै शव आफन्तले बुझेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए ।
उनका अनुसार मंगलबार भेटिएको शव पनि परीक्षणका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ । दुर्घटनामा परेका एक जनाको स्थिति अझै अज्ञात छ ।
यसअघि मंगलबार नै ४८ शवलाई काठमाडौंस्थित शिक्षण अस्पताल पुर्याइएको थियो । पहिचान र सनाखत हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव काठमाडौंमा परीक्षण हुँदैछ । शव क्षतविक्षत भएका कारण पहिचानका लागि डीएनए परीक्षण गर्नुपर्ने भएकाले आफन्तले शव पाउन अझै केही दिन लाग्ने देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले दुर्घटनामा बेपत्ता एक व्यक्तिको खोजीकार्य भइरहेको बताए । सेती नदीको पानीको सतह घटाएर खोजी गर्दा दुर्घटनास्थलभन्दा दुई किलोमिटर तल एउटा शव फेला परेको थियो ।











प्रतिक्रिया