पल शाहले पाए सफाइ

0
Shares

तनहुँ ।  चर्चित अभिनेता पल शाह (पूर्णविक्रम शाह) ले तनहुँ जिल्ला अदालतबाट मंगलबार सफाइ पाउनुभएको छ । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले पल शाहलाई सफाइ दिने आदेश दिएको हो ।

आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै अभिनेता शाहलाई सफाइ दिएको हो । बालिकालाई बलात्कार गरेको आरोपमा शाहमाथि तनहुँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले शाहलाई सफाइ पाउने गरी ठहर गरिएको बताउनुभयो । ‘आजको इजलासबाट शाहलाई सफाइ पाउने गरी ठहर गरिएको छ’ –उहाँले भन्नुभयोे । पल शाहले सफाइ पाए पनि ठहर गरिएको पूर्ण पाठ लेख्न भने केही दिन लाग्ने उहाँले जानकारी दिनुभयो ।

अभिनेता शाहको यसअघि नै फैसला हुने भनिए तापनि पटकपटक पेशी सर्दै आएको थियो । निर्वाचनका कारण पेशी सरेको अदालतले जनाउँदै आएको थियो । नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा शाहमाथि तनहुँ र नवलपुरमा मुद्दा दायर भएको थियो । जिल्ला अदालत नवलपुरले यसअघि शाहलाई बलात्कार मुद्दामा सफाइ दिएको थियो भने बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपियाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।

तनहुँ जिल्ला अदालतबाट सफाइ पाए पनि शाह तत्कालै नछुट्ने बताइएको छ । तनहुँ कारागारमा थुनामा रहेका शाहलाई नवलपुर जिल्ला अदालतले साढे २ वर्ष कैद सजाय सुनाएकाले तत्कालै उहाँ रिहा नहुने भएको हो ।

यसअघि नवलपुरका जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले कलाकार शाहलाई २ वर्ष ६ महिना सजाय हुने फैसला सुनाएको थियो । उहाँको इजलासले पीडित बालिकालाई १० लाख रुपियाँ क्षतिपूर्ति दिने फैसला सुनाएको हो । शाहले बलात्कारको मुद्दामा भने सफाइ पाउनुभएको थियो ।

उहाँले उच्च अदालत पोखरामा रिहाइका लागि पुनरावेदन गरेको उहाँको तर्फबाट बहस गर्दै आएका वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले बताउनुभयो । अब उहाँले उच्च अदालतबाट सफाइ पाउने दाबीसमेत अधिवक्ता वाग्लेको छ । पल शाहले रिहाइको दाबीसहित उच्च अदालतमा पुनरावेदन दिनुभएको हो ।

तनहुँ कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले तनहुँ जिल्ला अदालतको पत्र आफूहरुलाई प्राप्त भई नसकेको बताउनुभयो । उक्त अदालतबाट पल शाहलाई थुनामुक्त गर्नू भन्ने पत्र आउन सक्ने भए पनि नवलपुर अदालतबाट साढे २ वर्षको कैद सजाय भएकाले पललाई छोड्न नसकिने अधिकारीले जानकारी दिनुभयो । ‘तनहुँ जिल्ला अदालतबाट शाहले सफाइ पाए भन्ने सुन्नमा आएको छ आधिकारिक पत्र केही आइसकेको छैन’ –निमित्त प्रमुख अधिकारीले भन्नुभयो ।