स्कुटरलाई ठक्कर दिँदा तीन युवाको मृत्यु

0
Shares

हेटौंडा ।

एउटा स्कुटरलाई अन्य दुई सवारीले ठक्कर दिंदा भएको दुर्घटनामा मकवानपुरमा लोकप्रिय तीन युवाको ज्यान गएको छ ।
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–९, ज्यामिरेस्थित भलादमीचोकमा स्कुटर दुर्घटना भएको हो । दुर्घटनामा स्कुटरचालकसहित तीन जनाको ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त स्कुटरलाई अन्य दुई सवारीले ठक्कर दिएपछि ठूलो मानवीय क्षति भएको हो । बिहीबार राति करिब पौने ११ बजे ना. ३९ प १४३९ नम्बर स्कुटर दुर्घटना हुँदा मनहरी गाउँपालिका वडा नम्बर–८, सिमपानी बस्ने करिब ३२ वर्षीय धर्मराज मोक्तान, स्कुटरमा सवार सोही स्थान बस्ने करिब ३० वर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका वडा नम्बर–३, लावती बस्ने ३२ वर्षीय रुपेश तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

धर्मराजलाई शुक्रबार विहान ३ः३५ बजे तथा मिलन र रुपेशलाई अस्पताल पु¥याउनासाथ राति करिब सवा १२ बजे डाक्टरले मृतघोषणा गरेको इलाका प्रहरी कार्यालय मनहरीले जानकारी दिएको छ ।

स्कुटर दुर्घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो । प्रहरीले तीनै जनालाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि चितवनको पुरानो मेडिकल कलेज पठाएको थियो । मृतकहरु पश्चिम मकवानपुरमा स्थानीय खेलकुद र सामाजिक क्षेत्रका क्रियाशील थिए ।
स्थानीयले सवारीसाधनले ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको भन्दै दोषीलाई कारबाही माग गर्दै राति नै सडक बन्द गराएका थिए । ठक्कर दिने सवारीको पहिचान गरी नियन्त्रणमा लिन माग गर्दै स्थानीयले राति करिब २ः५० बजेदेखि बन्द गराएको सडक प्रहरीले शुक्रबार विहान करिब साढे ६ बजे खुलाएको छ ।

ठक्कर दिने सवारीलाई यथाशीघ्र पत्ता लगाइ नियन्त्रणमा लिने निष्कर्षसहित सडक खुलाइएको प्रहरीले जनाएको छ ।