ओझेलमा परेका वैकल्पिक दल र तिनको भविष्य



पुराना दलहरुका अजिवोगरिब गाथाहरु चाहेर-नचाहेर जनजनले सुन्नसम्म सुनिसके, देखिसके, भोगिसके । पुराना दलहरुका मठाधीशहरु सत्तामा नपुगुन्जेल जनजनलाई यो वा त्यो नाउँमा भ्रम छर्न जति खप्पिस छन् अनि सत्तामा पुगिसकेपछि पनि आ–आफ्नो दुनो सोझ्याउन उत्तिकै खप्पिस छन् ।

यसपालिको निर्वाचनमा पनि जनजनलाई पुराना दलहरुले धेरै प्रतिशतसम्म भ्रम छर्न सफल भएका छन् भने भ्रमको खेतीबाट पुनः सत्ता पनि प्राप्ति गर्न सफल भएका छन् । सत्ता प्राप्तिपश्चात् सरकार टिकाउने र आफ्नो दुनो सोझ्याउने क्रममा मन्त्रालय थप्ने वा भएका मन्त्रालय टुक्रा पार्दै मन्त्री र उपप्रधानमन्त्रीको संख्यामा बढोत्तरी गर्ने कार्यको शुरुवात पनि गरिसकेका छन् ।

विशेष गरेर पुराना दलका राजनीतिक व्यवसायीहरुले यी र यस्ता कुराहरुको विरोध गर्नु वा डटेर मुकाबिला गरी सत्ता साझेदारीको लागि गलत नीति अख्तियार गरेर देशको स्रोत दोहन गर्ने कार्यलाई रोक्ने वा रोक्ने प्रयास गर्नु भनेको ‘आकाशको फल आँखा तरी मर्’ भनेजस्तै भएकोमा जनजनलाई कुनै आश्चर्य छैन ।

तर नयाँ वैकल्पिक दलको रुपमा उदाएका दलले पनि त्यस किसिमको कार्यको विरोध नगरी आफ्नो समेत भाग लिन खोज्नु भनेकोचाहिँ जनताको मतमाथिको ठाडै अपमान हो भन्ने धारणा सार्वजनिक हुन थालेका छन् । यी र यस्ता विषयहरुमा कम्तीमा भर्खरै उदाएका भनिएका नयाँ दलले बेलैमा बुद्धि पु¥याएर सोच्नुपर्दछ ।

विश्वको राजनीतिक रंगमञ्चमा जस–जसले बहुदलीय व्यवस्थालाई अंगिकार गरेर अगाडि बढिरहेका छन् तिनीहरुमा आफ्नो देश र आफ्नो राजनीतिक सिद्धान्तका साथै व्यवहार अनुसार विभिन्न दलहरु एक हुनु, छुट्टिनु र चोइटिनुलाई अन्यथा मानिदैन । सत्तामा पहुँच पु¥याउनका लागि यी परिघटनाहरु सामान्य हुन्, तथापि त्यसरी छुट्टिन पुगेकाहरुले जोसँग एक भएको हो वा छुट्टिएको हो एक भएको वा छुट्टिएको औचित्य स्थापित गर्दै देशलाई सार्थक सम्बोधन गर्न सक्यो र जनजनले पाइरहेको स्वतन्त्रतामा कुनै धक्का पुगेन भने जनजनलाई विभिन्न दलहरु एक हुनु वा छुट्टिनुले खासै असर पार्दैन ।

हाम्रो देशको सम्बन्धमा यो र यस्ता घटनाक्रम बारम्बार भइरहे पनि पटकपटक जोडिने र छुट्टिने दलहरुले न त कहिल्यै छुट्टिन पुगेको कारण, न त एकता गर्नुपरेको कारणबारे सार्थक सम्बोधन गरे, न त जनताको चासोलाई सम्बोधन गरे । यसको पछिल्लो परिघटना पाँच दलीय गठबन्धनको चुनावी सरकार र चुनावपछि देखिएको सत्ता समिकरणले छ्याङ्ग पारिदिएका छन् । सजिलोको लागि लाजसरम पचाएरै भए पनि राजनीतिमा जे पनि सम्भव छ भन्दै आपूm सत्तामा पुग्ने वैध÷अवैध बाटोको खोजी गर्ने र प्राप्त भएपछि प्रयोग गर्ने गरिएको पछिल्लो दृष्टान्त वर्तमान सरकारको गठन हो ।

देशमा यस्ता विसंगतिहरुले प्रश्रय पाइरहेका वेला यता केही वर्षदेखि सुसंस्कृत राजनीति पस्किने उद्देश्य बोकेर केही दलहरुले आ–आफ्ना दृष्टिकोण, भनाइ र सिद्धान्तहरुलाई पस्किने काम नगरेका होइनन्, तथापि दूरदृष्टिपूर्ण खाका तयार गरी बृहत् योजना पस्किन नसकेको र समय अनुसार समस्या सम्बोधन गर्न नसकेको कारणले जनमत उनीहरुको पक्षमा आउन सकेन । कतिपय भर्खर–भर्खर दर्ता भएका दलहरुले सामान्य जग पनि हाल्न नपाउँदै जनजनको नजरबाट ओझेल हुन पुगे ।

पूर्वावस्थामा निकै चर्चा कमाएको वर्तमानमा जनताले पत्याउने आधार गुमाएको एउटा दल हो विवेकशील साझा । राम्रै चर्चा बटुलेको र स्थापित हुने अवस्थामा पुगेको विवेकशील साझा नामको राजनीतिक दललाई रछ्यानमै पु¥याउने आरोप लागेका दुई मुख्य पात्र हुन् रवीन्द्र मिश्र र मिलन पाण्डे । थुप्रैको आशा र भरोसामाथि यी दुईले कुठाराघात गरेको आरोप लगाउँछन् पीडितहरु ।

विगतको निर्वाचनहरु संघीय र स्थानीयमा विजयी हुन नसके पनि कम्तीमा शिर ठाडो राखेर जनजनमा भिज्न मत प्राप्त भएको थियो यो दललाई । प्रदेशसभामा दुईजना भए पनि प्रतिनिधित्व गर्थे यो दलबाट । विडम्बना नै भन्नुपर्दछ, पछिल्लो निर्वाचनमा यो दलबाट उम्मेदवार हुन चाहने मान्छे खोज्दा पनि भेटिएन । यसले के कुरा प्रमाणित गर्दछ भने, जहाँ आपूmले बोलेका कुराहरुलाई यथार्थमा कार्यान्वयन गरिँदैन त्यहाँ संकट उत्पन्न हुन्छ । त्यति बेला नै अर्थात् शुरुवातीमै एक–आपसमा खर्रोटर्रो भनाइहरु सार्वजनिक हुनासाथ सजग र संयमित भएर अगाडि बढेको भए विवेकशील साझाको यो दुर्दिन देख्नुपर्ने थिएन । कम्तीमा महाधिवेशनमार्पmत छिनोफानो गरी आ–आफ्नो बाटो लागेको भए त्यो उचाइमा पुगिसकेको दलको स्तर यति तल खस्किँदैनथ्यो ।

आपूmले राखेका कुराहरु भविष्यमा हुने महाधिवेशनले पारित नगरेमा पनि स्वीकार्य हुने कुरा व्यक्त गरेर शुभेच्छुकलाई अलमल्याउने काम भयो तर महाधिवेशनको अनुहार कस्तो हुन्छ, कसैले देख्नै पाएनन् । सम्भवतः त्यही कुरा बुझेर डा. सूर्यराज आचार्यजस्ता व्यक्तिले बेलैमा विवेकशील साझा दललाई परित्याग गरिदिए ।भर्खरै सम्पन्न निर्वाचनले स्वार्थको लडाइँमा होमिएका तत्कालीन विवेकशील साझाका दुवै पात्रहरुलाई जनताले तिरस्कार गरिदिए, भलै एउटा पात्रको मत पहिलाको भन्दा बढी नै आए पनि अर्को पात्रको मतचाहिँ पहिलाको भन्दा आधी पनि आउन सकेन ।

दुवै पात्रहरु लज्जित त बनेबने, लज्जाबोधलाई जति ढाक्न खोजे पनि त्यसले सार्थकता पाउन सकेन । तर दुर्भाग्यचाहिँ त्यो दलमाथि आस्था र भरोसा राख्ने तर कुनै स्वार्थबाट अभिप्रेरित नभएका शुभेच्छुकहरुमा पु¥याएको चोटचाहिँ अभैm बिर्सिन सकिएको छैन भन्छन् जानकारहरु ।

भर्खरै यो दलले बन्दीपुरे भेला सम्पन्न गरेको छ । भेलाले केही महत्वपूर्ण निर्णयहरु गरेका छन् । सार्वजनिक भएका निर्णयहरु स्वागतयोग्य पनि छन्, तथापि ती निर्णयहरुमा गम्भीर समीक्षा गरी थप कार्यक्रमसहित अगाडि बढ्न सक्छन् कि सक्दैनन्, यो दलको भविष्य त्यसैमा निर्भर गर्दछ । वास्तवमै त्यति बेला एक–अर्काले उठाएका विषयहरु खासै जटिल थिएनन् । मिलाएर जान सकिने थुप्रै पाटाहरु विद्यमान थिए तर त्यता त्यति बेलाका नेतृत्व सम्हालेकाहरुको ध्यान केन्द्रित नै हुन सकेन ।

यस अर्थमा पनि वर्तमान नेतृत्वले सार्वजनिक भैसकेको महाधिवेशनको मितिलाई कुनै पनि हालतमा पर सारिनुहुन्न, यदि कुनै पनि कारण देखाएर पुनः त्यसलाई परपर सार्ने कार्य भयो भने अविश्वासको संकटमाथि थप अविश्वास थपिन जान्छ । पुनः विवेकशील साझाप्रति जनताको आस्था बढाउने कार्य गर्ने हो र जनहितको कुरालाई सम्बोधन गर्ने गरी राजनीति गर्ने हो भने आपूm सुध्रिएको हो भन्ने कुरा जनजनलाई विश्वास दिलाउनुको विकल्प छैन ।

अर्को ध्यान दिनुपर्ने पक्ष के हो भने, देशमा रहेका पुराना दलका खेलाडीहरुलाई पनि ध्यानमा राखेर अगाडि बढ्नुपर्ने हुन्छ । कुनै पनि नयाँ दलप्रति जनआस्था वृद्धि हुनासाथ त्यसलाई कसरी भताभुंग पार्ने भन्ने विषयमा पुराना दलहरुमा छलफल शुरु भैहाल्छ र अनेक जुक्ति लगाएर हुन्छ कि घुसपैठ गराएर हुन्छ, त्यहाँ विभाजनको रेखा कोर्ने भूमिकामा मान्छेहरु खटाइएको हुन्छ ।

विवेकशील साझा भताभुंग हुनमा यो कुराले पनि महत्वपूर्ण भूमिका खेलेको छ भन्ने शुभेच्छुकहरुको बुझाइ छ । छोटो अवधिमा स्थापित हुन पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि पुराना दलहरुको चलखेलको प्रयास नभएको होइन, तथापि समयमै पहिचान गरेर त्यसलाई निस्तेज पार्न सफल भएकोले वर्तमान स्थितिसम्म आइपुग्न सफल भएको हो भन्नेमा विमति देखिँदैन । यसबाट पाठ अन्य साना दललगायत छोटो अवधिमा आपूmलाई उठाएको राष्ट्रिय स्वतन्त्र पार्टीलगायत अन्य कमजोर दलहरुले सिक्नै पर्दछ । विशेष गरेर भर्खर छोटो अवधिमा सत्ता हिस्सेदारीमा सहभागी हुन पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीका बारे पनि केही टीकाटिप्पणी हुन थालेका छन् ।

टीकाटिप्पणी हुनु आपैmँमा नराम्रो कुरा पटक्कै होइन । टीकाटिप्पणीले सम्बन्धित दल तथा त्यो दलका नेतृत्वलाई सुर्धान र सुध्रिन मद्दत गर्दछ । राष्ट्रिय स्वतन्त्र पार्टीकै कुरा गर्दा सकेसम्म सरकारमा नजाने र बाहिर बसेर खबरदारी गर्ने कुरा बताउँदै आएको दल त्यस्तो के अवस्था आइपुग्यो र सरकारमा प्रवेश ग¥यो भन्ने कुरा जनजनमा उठ्न थालेको छ । त्यसबारे आजको मितिसम्म त्यो दलले सरकारमा जानुपरेको कारण स्पष्टरुपमा बताउन सकेको छैन । चर्चामा आए अनुसार ठूला दलहरुले स्वतन्त्ररुपमा काम गर्न दिने, कतै र कहीँ पनि हस्तक्षेप नगर्ने कुरामा सहमति भएर सरकारमा प्रवेश गरेको हो भने जनजनले धन्यवाद पक्कै दिनेछन् ।

त्यसको लागि सम्बन्धित सरोकार पक्षहरुबाट हस्ताक्षर गरिएको समझदारीपत्रको लिखित दस्तावेजलाई सार्वजनिक गर्न सक्नुपर्दछ । यदि लिखित समझदारी गरिएको छैन भने जनजनले अब यस्ता भूलभूलैया खाले कुराहरु पत्याउनेवाला छैनन् । किनकि लिखित नै समझदारी भए पनि समझादारी तोड्न लज्जाबोध नहुनेहरुले मौखिक समझदारी तोड्न तिनीहरुलाई कुनै आइतबार कुर्नुपर्दैन । यस मानेमा भर्खर उदीयमान भएर जनमतबाट सत्तामा पुगेको नयाँ दलले यी कुराहरुलाई मनन गर्न अनिवार्य छ र मौखिक समझदारीबाट मात्र अगाडि बढेर सरकारमा गएको हो भने त्यो समझदारीलाई लिखितमा परिणत गरी जनजनमा सार्वजनिक गर्न ढिलाई गरिनुहुन्न ।

त्यसो हुन सक्यो भने पूरै अवधि सरकार टिकेर निर्वाचन हुने भयो वा विगतजस्तै गुट, उपगुटलगायत विदेशी शक्तिहरुको इशारामा मध्यावधि निर्वाचन हुन पुग्यो भने पनि त्यो बेला मतदाताले पुनः मूल्यांकन गर्नेछन् अनि बहुमतका साथ सरकार चलाउन अनुमति पनि दिनेछन् भन्ने कुरालाई हृदयङ्गम गर्दै अगाडि बढ्दा नोक्सान हुँदैन ।
(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्