माघमा स्टार म्युजिक भिडियो अवार्ड

0
Shares

संसार क्रिएसन्सले नेपाल भाषाको गीत+संगीत प्रवद्र्धन गर्ने उद्देश्यले आगामी माघ २९ गते राजधानीमा नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड्स आयोजना गर्ने भएको छ।

विश्वको ठूलो र लामो अवार्डको रेकर्ड राख्ने उद्घोषका साथ सो अवार्ड गर्न लागिएको क्रिएसन्सका क्रिएटिभ डाइरेक्टर स्वतन्त्र महर्जनले हालै कीर्तिपुरमा आयोजित अवार्डको नोमिनेसन प्रमाणपत्र र मेडल वितरण कार्यक्रममा बताए। कार्यक्रममा गीत रचनादेखि म्युजिक भिडियो प्रोडक्सनसम्मको हरेक विधा र क्षेत्रमा अवार्ड वितरण क्रिएशन्सले जनाएको छ।

कार्यक्रममा तेज स्मारक कला सम्मानबाट पत्रकार श्याम स्मृत, निर्देशक पवन जोशी, संगीतकार तथा तबला बादक मनराजा नकर्मी, गायिक निशा देसार र लहना मिडिया तथा संसार सप्तरंगीकला सम्मानबाट संगीतकर्मी रत्न बेहोशी, कलाकार नगीना जोशी, सुशील राजोपाध्याय, गायक पवित्र कसाः, संगीतकार गोविन्द ह्युमत, संगीतकार एवम् संगीत संयोजक जुगल डंगोल, निर्देशक, कलाकार तथा संगीतकर्मी रामकृष्ण खड्गीलाई सम्मानित गरिने भएको छ।

त्यसैगरी, सर्वाधिक चर्चामा रहेको नेपालभाषाको गीत सालुगु गाचा बोलेको गीतको म्युजिक भिडियो निर्माण समूह कुटुपुखु भजन खलः सहित लक्ष्मीप्रसाद डंगोल, बिबेन्द्र डंगोल, रोजमान महर्जन र नित्यनाथ भजन खलः खोकनालाई प्रतिभा कला सम्मान प्रदान गरिनेछ।

अवार्डमा दर्ता भएकामध्येमा सर्वाधिक बढी म्युजिक भिडियोको निर्देशन र कोरियोग्राफी गरेकी आराध्यलक्ष्मी खड्गी, सर्वाधिक धेरै गीत अपलोड भएको युट्युब च्यानल ज्योति म्युजिक र युट्युबमा सबैभन्दा बढी हेरिएको राजमती कुमती (महिला भर्सन) लाई विशेष सम्मान गरिने भएको छ। यसपटक लाइफ टाइम अचिभमेन्ट अवार्ड ख्यातिप्रँप्त हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठलाई प्रदान गरिने भएको छ।