सकियो तिम्रो मेरो साथको टुर


काठमाडाैं  ।

आगामी पुस २९ गते अल नेपाल रिलिजमा आउने फिल्म तिम्रो मेरो साथको मोफसल टुर सम्पन्न गरेको छ। पर्यटकीय नगरी पोखराबाट सुरु भएको नेपाल टूर दमकमा पुगेर समापन भएको हो।

नेपाली फिल्मप्रति उत्साह बढाउनका लागि पोखरा पुगेको टिम त्यहाँबाट चितवन झरेको थियो। चितवनका विभिन्न क्याम्पस, हल र मलमा पुगी दर्शकसँग साक्षात्कार गरेको टिमले त्यहाँ फिल्मको शीर्ष गीत पनि सार्वजनिक गरेको थियो। चितवनपछि कलाकार पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, सन्दीप क्षेत्री र निर्देशक रमेश एमके पौडेलसहितको टिम हेटौंडा हानिएको थियो। टिमले हेटौंडापछि सर्लाहीको लालबन्दी पुगेर कन्सर्ट गरेको थियो। कार्यक्रममा पुष्प, साम्राज्ञी,र सन्दीपले दर्शक झुमाएका थिए। लालबन्दीपछि तिम्रो मेरो साथको टिम इटहरी र दमक पुगेको थियो।

इटहरीको चोक+चोकमा पुगेको टिमले दमकमा पनि दर्शकका साथ साक्षात्कार गरेको थियो। प्रेमकथामा आधारित फिल्ममा पुष्प, साम्राज्ञी र सन्दीपसँगै सरोज खनाल, खड्क बहादुर पुन, दीपिशा केसीलगायतका कलाकारले अभिनय गरेका छन्।

सवीर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्मित फिल्ममा सुवाष भुसाल र योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, शिव ढकालको छायांकन, र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ। सबिर श्रेष्ठ लेखक र कार्यकारी निर्माता रहेको फिल्म पासाध्र लामा, अर्नव पौडेल र आर्यन पौडेलले निर्माण गरेका हुन् भने नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधीर पराजुली सह-निर्माता रहेका छन्।