अल्लड, खोटो नियत, चम्चा–चाकडीले अल्झिएको मुलुक



हाम्रो मुलुकमा अल्लड, नकारात्मक सोच र चम्चा चाकडीबाज धेरै छन् । मुलुक अघि बढ्न नसक्नुको एउटा कारण यो पनि हो । यस्ता मान्छेबाहेक अखबार, पत्रपत्रिका पढ्न नचाहने, अल्छी गर्ने, गफ र अरुको खुट्टा तान्नमात्र चाहने र सानो सोच लिएर बाँच्न चाहनेजस्ता व्यक्तिहरुको पनि कमी छैन यहाँ । फेरि हामीले नेताहरुबाट राम्रो अपेक्षा गरेर कहाँ हुन्छ र ? वास्तवमा भन्ने हो भने यस्ता व्यक्तिहरुको मनस्थिति र सोच बदल्ने तपाईं–हामीहरु नै हौं । किनकि राम्रा मानिस, बुद्धिजीवीहरुको पनि कमी छैन यो देशमा ।

देशमा यसरी थरीथरीका मानिसहरु भएको ठाउँमा फेरि हामी एक–अर्कालाई कोसेर किन आफ्नो कपाल दुखाउनु ? आखिर देश राम्रो भयो भने फाइदा कसको लागि ? हाम्रा आउने पुस्ताका लागि नै होइन ? तैपनि समय नआएकोले हो वा मानिसहरु परिवर्तन नै हुन नचाहेको हो । अन्यथा हाम्रो मुलुकको हाल यस्तो त हुनु नपर्ने थियो, यो मुलुकमा सबथोक छ, सिबाय मानिसहरुको बदलिनुपर्ने सोच, विचार, त्याग र मानवता । जसरी लोकतन्त्र, गणतन्त्र, संविधान आदिका लागि नेताहरुले जनताका निम्ति पञ्चायती व्यवस्थालई पराजित गरेर यी व्यवस्थाका लागि जित हासिल गरे तर यहाँ शान्ति कम र अशान्ति धेरै भयो ।

यसमा खराब मानिसहरुलाई केही फरक परेन तर राम्रा सर्वसाधारण भने यो व्यवस्थाबाट केही विकास भए पनि खुशी हुन सकेनन् । कारण अझै पनि मानिसको जीवनमा आर्थिक कठिनाइले गर्दा यिनीहरुको जीवन हाइसन्चो भएन । यही कारणले गर्दा देश चलाउने कार्यकर्ता, समाजमा भएका राम्रा व्यक्तिहरु एकपल्ट गम्भीर भएर बदलिनु आवश्यक छ ।

हामीले कैयौंपल्ट लोकतन्त्र ल्याउने देश चलाउनेहरुलाई घचघच्याइसक्यौं कि सानो मुलुकमा यत्रो जम्बो जेटजस्तो दल तथा सरकार हुनुहुँदैन । आर्थिक चुहावट, कलह र विकास पछि पर्नुको कारण यिनै हुन् । सबै पक्ष मिल्ने हो र एकपल्ट ठण्डा दिमागले सोच्ने हो भने यसलाई बदल्न सम्भव पनि छ । देशमा राजनीतिक आकार सानो गर्ने हो र मानिसहरु यो क्षेत्रमा नझुमिन्ने हो भने देशको राष्ट्रधन बलियो हुनेछ । राष्ट्रधन बलियो भएपछि हामीले कुनै विदेशीको अगाडि भिखारीले जस्तै हात पैmलाउनुपर्ने जरुरत छैन । यसले गर्दा मुलुक राम्रो हुन्छ ।

यसबाहेक मुलुक राम्रो हुन ज्ञान, जाँगर भएका युवापुस्ताले नै देश हाँक्न जरुरी छ । तर स्वार्थका लागि चाकडी प्रथा हट्नु जरुरी छ । भनाइको मतलब क्षणिक आर्थिक स्वार्थले गर्दा युवापुस्ताको भविष्य खराब हुनुबाहेक देश कुन बेला बरबादतिर धकेलिने हो, भन्न सकिन्न । देश चलाउने र चाकडी गर्नेहरुले सोच्ने हो कि अब मुलुकलाई कुन दिशामा लैजाने हो । नेता होस्, कार्यकर्ता होस्, आम नागरिक हुन्, मनमा यो संकल्प गर्नुपर्दछ कि म दिनमा एकछाक खाना खानुपरे पनि देशप्रति गद्दार गर्दिन । यदि तपाईंले यति परिवर्तन गरेर देखाउनुभयो भने तपाईं आमाको दूध खाएर जन्मेको असली सपुत हुनुहुँदो रहेछ भनी मान्न सकिन्छ ।

हाम्रो देशमा एउटा विडम्बना के छ भने, खान–पिउनमा हुरुक्क हुने तर देश र समाज बदल्नको लागि टेन्सन लिन नचाहने हाबी पनि हराएको छैन । यस्तो बेलामा लाटोकोसेरोले मुख बटारेजस्तो भएर बसेको हुन्छ । यस्ता स्वार्थी संस्कारलाई कम गर्दै लैजानु सबैको कर्तव्य हो । एकपल्ट फेरि भन्नुपर्दा देश चलाउनेहरु गलत सल्लाह नलिएर, परिवर्तन भएर, कानुन मजबुत गरेर, अब आउने सरकारले राम्रो सेटिङ गर्ने हो भने यो मुलुक सुध्रन समय नलाग्ला ।

यसबाहेक आउने नयाँ सरकारले जोड दिनुपर्ने कुरा नै अधुरो राजमार्ग, टुरिजम र कृषि उद्योग व्यवसायको लागि गम्भीर हुने हो । कारण देशको हाल विगतका समयमा भन्दा अहिले नाजुक छ । त्यसकारण यी सब कुराका लागि स्वार्थ, लोभ, लालचलाई त्यागी सबै पक्ष जुर्मुराउनु जरुरी छ । एउटा महत्वपूर्ण कुरा यो पनि छ कि देशम सधैँ खाद्यान्न, विदेशी रक्सी र सवारीसाधनहरु आयात गर्ने होइन बरु यसलाई कम गर्ने हो । यसो गर्नाले राष्ट्रिय धन अझ बलियो हुनेछ ।

अन्त्यमा एउटा महत्वपूर्ण कुरा कसैले कसैलाई अपशब्द नभनौं, भेडा नभनौं, सकिन्छ भने परिवर्तन भएर आउने अर्को चुनावमा राम्रो मानिसलाई भोट दिऔं र गल्ती नदोहो-याऔं । यो बाहेक बिर्सनु नहुने एउटा कुरा यो हो कि राम्रो कुराको कदर गर्न सबैले सिक्नुपर्दछ । सधैँ चलचित्रको त्रूmर खलनायकजस्तो भएर बस्नुहुँदैन ।

प्रतिक्रिया दिनुहोस्