स्ववियु निर्वाचनको तयारी तीव्र



काठमाडौं  । 

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को तालिका सार्वजनिक गर्न र फागुन १४ मा परीक्षा रहे वा नरहेको विषयमा जानकारी लिन डीनहरूसँग बुधबार बैठक बस्ने निर्णय गरेको छ । हिजो मंगलबार बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले ९ वटा संकायका डीनलाई छलफलमा बोलाएको छ ।

बैठकले फागुन १४ मै स्ववियुको निर्वाचन गर्नेगरी तयारी थालेको हो । परिषद्का सदस्य सचिव एवं त्रिवि विद्यार्थी तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले विगतमा तय भएकै मितिमा निर्वाचन गर्नेगरी तयारी थालिएको जानकारी दिनुभयो ।

उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘त्यही तयारीअनुसार हिजो मंगलबार बैठक भएको हो । सोही विषयमा केन्द्रित रहेर आज बुधबार पनि बैठक बस्दै छ । उपकुलपतिसहित सबै पदाधिकारीसँग हुँदैछ, त्यसलगत्तै मिति घोषणा गरेपछि कार्यतालिका तयार गरी विद्यार्थी संघ संगठनसँग बैठक जारी रहनेछ ।’ परिषद्ले दिउँसो ३ बजेको लागि डीन बैठक बोलाएको छ ।

बैठकले २८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणालीअनुसार निर्वाचन गर्ने अन्तिम तयारी गरेको छ । सोहीअनुसार निर्वाचनमा सभापति, सचिव तथा कोषाध्यक्ष प्रत्यक्ष निर्वाचनबाट तथा उपसभापति र सहसचिव समानुपातिक एवं ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुने व्यवस्था रहेको छ ।

सदस्य सचिव अधिकारीले बैठकले निर्वाचनको मिति तय नगरेसम्म त्रिविको बैठक निरन्तर भइरहने बताउनुभयो ।सरकार आबद्ध नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन र एमाले निकट अनेरास्ववियुले फागुन १४ गर्ने नै निर्वाचन गराउन त्रिविलाई आग्रह गरेपछि परिषद्को बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्