राताे मच्छिन्द्रनाथका पुजारीसँग आज छलफल गर्दै गुठी संस्थान

0
Shares

ललितपुर  । 

ह्यगृव भैरवनाथ तथा मच्छिन्द्रनाथका पुजारीहरूको संगठन ३२ पानेजु संघ बुङ्मतीले रातो मच्छिन्द्रनाथसँग जोडिएको परम्परा बन्द गर्ने निर्णयमा ढिलै भए पनि गुठी संस्थान ललितपुरको ध्यान गएको छ । संस्थानले आज बुधबार संघसँग पत्राचार यस विषयमा छलफल गर्ने भएको छ । संस्थानका कार्यालय प्रमुख हरिप्रसाद सुवेदीले पत्राचार गरी ३२ पानेजु संघलाई छलफलमा भाग लिन आग्रह गर्नुभएको छ ।

हरेक वर्ष रातो मच्छिन्द्रनाथका पुजारी कीर्तिपुर नगरपालिका –२ स्थित प्यंगःथांमा गएर प्रसाद ग्रहण गर्ने र गराउने कार्य बन्द गर्ने संघको निर्णयप्रति संस्थानको ध्यान आकृष्ट भएको हो । रातो मच्छिन्द्रनाथको प्रतिमूर्ति र शक्ति स्वरूपा कन्या कुमारीको (याकः मिसा) मूर्ति कीर्तिपुर नगरपालिका– २ स्थित प्यंगःथांमामा स्थापना गरिएको विरोधमा ३२ पानेजु संघले आपत्ति जनाउ“दै गत पुस ३ गते आइतबार प्रसाद ग्रहण गर्ने र गराउने कार्य बन्द गर्ने भन्दै विज्ञप्ति जारी गरेको थियो ।

संघका अध्यक्ष यज्ञरत्न शाक्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘सम्बन्धित निकायको लिखित सहमति बेगर जबरजस्ती प्रतिमूर्ति स्थापना गरी जीवित सम्पदामाथि प्रत्यक्ष प्रहार गरेको छ ।’गत मंसिर १५ गते बिहीबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको उपस्थितिमा पाटनस्थित महाबौद्ध परिसरमा सो मूर्तिलाई विशेष पूजाआजा गरी कीर्तिपुरस्थित प्यंगःथांमा स्थापना गर्न त्यहा“को समितिलाई हस्तान्तरण गरिएको थियो । महानगरपालिकाको सहयोगमा सो मूर्ति प्रसिद्ध मूर्तिकार एवं सम्पदा अभियन्ता रवि शाक्यले बनाउनुभएको थियो ।

गत मंसिर १९ गते सोमबार ३२ पानेजु संघले विज्ञप्ति प्रकाशित गरी त्यसप्रति खेद प्रकट गरेको थियो । विज्ञप्तिमा भनिएको छ– ‘युगौं युगदेखिको ऐतिहासिक र सांस्कृतिक परम्परा तोडमोड गरी शक्ति स्वरूपा कन्या (याकः मिसा) लाई श्री करुणामय रातो मच्छिन्द्रनाथको प्रेमिकाको संज्ञा दिई गलत तथा भ्रमपूर्ण प्रचारप्रसार गर्दै आएको घोर आपत्ति प्रकट गर्दछौं ।’
मूर्ति हस्तान्तरण गरिएको विषयमा संघका पदाधिकारीहरूले सामाजिक सञ्जालमार्फत थाहा पाएका थिए । मन्दिर निर्माण गरी मूर्ति स्थापना गरी कुरो उठेदेखि आफूहरूले असहमति प्रकट गर्दै आएको पनि संघका अध्यक्ष शाक्यले नेपाल समाचारपत्रलाई बताउनुभयो ।

हरेक वर्ष रातो मच्छिन्द्रनाथलाई थतिटोलबाट तानेर जावलाखेल पु¥याउने चार दिनअघि मच्छिन्द्रनाथका पुजारी (जल पानेजु) प्रसाद लिएर कीर्तिपुरस्थित प्यंगःथांमा पुगेर शक्ति स्वरूपा कन्यालाई प्रसाद ग्रहण गराउने परम्परा रहेको छ । पानेजु संघका अध्यक्ष शाक्यका अनुसार मच्छिन्द्रनाथका पुजारीले शक्ति स्वरूपा कन्यालाई प्रसाद ग्रहण नगराई रथ भोटो जात्राको लागि जावलाखेलतर्फ तान्न नहुने मान्यता रहेको छ । कीर्तिपुरको सो स्थानमा मच्छिन्द्रनाथको प्रतिमूर्ति स्थापना भएपछि शक्ति स्वरूपा कन्या कुमारीलाई प्रसाद ग्रहण गराउने परम्पराको औचित्यमाथि प्रश्न उठेको संघका अध्यक्ष यज्ञरत्न शाक्यको भनाइ रहेको छ ।

यसैबीच सम्पदा अभियन्ताहरूको यस विषयमा सरोकार देखाउँदै संस्थानमा ज्ञापनपत्र बुझाएका छन् । अभियन्ताहरूको तर्फबाट पृथबिन्दु महर्जनले सरोकारवालालाई जानकारी नै नदिई कुन कानुनअनुसार मच्छिन्द्रनाथको प्रतिमूर्ति निर्माण गरिएको भन्ने प्रश्न उठाउ“दै यस विषयमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन माग गर्नुभयो ।