आन्तरिक पर्यटकको रोजाइमा थानापति महादेव मन्दिर 



रामेछाप।

रामेछाप सदरमुकाम समेत रहेको मन्थली नगरपालिका–९ पुरानागाउँमा जिल्लाकै ऐतिहासिक तथा धार्मिक तीर्थ स्थल थानापति महादेव मन्दिर छ । स्थानीयका अनुसार यो थानापति महादेव मन्दिर काठमाडौँको पशुपति, पूर्वी नेपालको हलेसी महादेव जत्तिकै महत्त्वको महादेव मन्दिर हो । यो मन्दिरको इतिहास तीन सय वर्षभन्दा पनि पुरानो रहेको स्थानीय बताउँछन् ।

यो मन्दिरमा गई पूजा आराधना गरी ठुलो स्वरले वरदान माग्दा मागेको बर पाइने स्थानीयको विश्वास छ । स्थानीयका अनुसार थानापति वैरा महादेवको नामले परिचित यस महादेव मन्दिरलाई बुढा महादेव भनेर समेत पुकारिन्छ । वैरा महादेव भएकै कारण यहाँ वर माग्दा ठुलो स्वरले माग्नु पर्ने जनविश्वास छ ।

महादेव मन्दिरमा बस्तु थारो बस्दा ब्याओस् भनेर माग्ने तथा सन्तान नहुनेले सन्तान प्राप्तिको कामना गर्दै बर माग्ने चलन रहेको मन्दिरका पुजारी खुशहरि गिरीले बताउनुभयो । ‘यो महादेवको मन्दिरमा बस्तुको दाम्लो चढाएर त्यही दाम्लोले महादेवस्थान परिसरको ढुङ्गा डोहोर्याएर घरमा ल्याउँदा बस्तुभाउ फस्टाउने जनविश्वास छ, यहाँ प्रत्येक वर्षको तीज तथा ठुलो एकादशीमा ठुलो मेला लग्छ’, उहाँले भन्नुभयो ।

उहाँका अनुसार यी पर्वहरूमा रामेछाप लगायत सिन्धुली, सर्लाही, महोत्तरी, ओखलढुङ्गा, काभ्रे, दोलखा सहित काठमाडौँ जिल्लाबाट समेत दर्शनार्थीहरु आउने गर्दछन् । मन्दिरको फेदीबाट मन्दिरसम्म जानको लागि सिँढी निर्माण भएको र सडक सञ्जाल जोडिएसँगै दैनिक रूपमा यो मन्दिर दर्शन गर्ने र घुम्नका लागि आउने पर्यटकको सङ्ख्या बढेको मन्थली नगरपालिका–९ पुरानागाउँका वडा अध्यक्ष गोकर्णराज आरणले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘पुरानागाउँबाट जाँदा मन्दिरको फेदीबाट आकर्षक सिँढी निर्माण गरिएको छ । सदरमुकाम मन्थलीबाट वडा नं ८ चिसापानी र मन्थली नगरपालिका–१० चनखु हुँदै मन्दिर पुग्न सकिने गरी सडक निर्माण गरिएको छ, जसका कारण अहिले दैनिक मन्दिरमा दर्शन गर्न र घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको छ ।’’

भौगोलिक विकटता तथा प्रचार प्रसारको कमीको कारण छायामा परेको सो महादेव मन्दिर विकासका लागि मन्थली नगरपालिकाले पूर्वाधार निर्माणको काम गरिरहेको मन्थली नगरपालिका प्रमुख लवकुमार श्रेष्ठले बताउनुभयो । ‘नगरपालिकाले मन्दिरको फेदीबाट मन्दिरसम्म जानको लागि सिँढी निर्माण गरेको र यो वर्ष स्नान गृह र शौचालय निर्माणका लागि नगरपालिकाले १७ लाख रुपियाँ बजेट विनियोजन गरेको छ’, उहाँले भन्नुभयो ।  यो महादेव मन्दिरलाई धार्मिक पर्यटकीय स्थानको रूपमा विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरूको वृद्धि गर्ने उद्देश्यले आवश्यक पूर्वाधार निर्माणका लागि डिपिआर तयार गर्ने उहाँले बताउनुभयो ।

मन्थली नगरपालिका–९ पुरानागाउँ स्थित पहाडको टाकुरामा रहेको थानापति मन्दिरबाट मनोरम दृश्यावलोकन गर्न सकिन्छ । महादेवको दर्शनसँगै पहाडका नागबेली दृश्यहरूको अवलोकन गर्न पाइन्छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्