नोराद्वारा ज्याकलिनविरुद्ध मुद्दा दायर

0
Shares

बलिउड अभिनेत्री नोरा फतेहीले अर्की अभिनेत्री ज्याकलिन फर्नान्डिज र केही भारतीय सञ्चार माध्यमविरुद्ध मानहानीको मुद्दा दायर गरेकी छन्।

उनले दुई सय करोड भारुको मुद्रा अपचलन आरोप लागेका भारतीय नागरिक सुकेश चन्द्रशेखरको मुद्दामा आफ्नो नाम जर्बजस्ती जोडिएको भन्दै ज्याकलिन र १५ सञ्चार माध्यमविरुद्ध मानहानीको मुद्दा दायर गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मनी लन्ड्री मुद्दामा जोडिएका यी दुवै अभिनेत्रीमाथि कयौँपटक सोधपुछ भइसकेको छ। यही बीच नोराले ज्याकलिन र सञ्चारमाध्यम एक+अर्काका साथ मिलेर काम गरिरहेको आरोप लाउँदै ज्याकलिनविरुद्ध मुद्दा दायर गरेपछि यो घटनाले नयाँ मोड लिएको छ। नोराले वकिलमार्फत दायर गरेको निवेदनमा आफ्नो आर्थिक, सामाजिक तथा व्यक्तिगत चरित्र पतनका लागि षड्यन्त्र रचिएको उल्लेख गरेकी छन्।

यसभन्दा अघि ज्याकलिनले सुकेशसँग विभिन्न महँगा उपहार लिएको प्रमाण फेला परेको थियो भने नोराले पनि सुकेशबाट उपहार पाउने गरेको खबर थियो। नोराले भने सुकेशको श्रीमतीमार्फत सुकेशलाई चिनेको र आफूहरुको प्रत्यक्ष भेट भने नभएको र आफूले उपहार पनि नलिएको दाबी गर्दै आएकी छन्।