पर्यटक तान्न लान्द्रुकमा ‘हनी हन्टिङ’ महोत्सव

0
Shares

कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित पर्यटकीय गाउँ यति बेला सुनसान छ । कुनै बेला पर्यटकले भरिभराउ हुने गाउँ पछिल्लो समय रित्तिन थालेको छ । अन्नपूर्ण आधार शिविरका लागि पर्ने पदमार्ग पछिल्लो समय मासिँदै जाँदा अहिले लान्द्रुक छायाँमा परेको छ । सडक विस्तार हुँदैजादाँ पर्यटकहरूको गन्तव्य फेरिन थालेपछि स्थानीयहरू चिन्तित बनेका छन् ।

गाउँमा पर्यटकको आगमन बढाउन युवाहरू नयाँपन गर्ने सोचका साथ वर्षेनी मह सिकार कार्यक्रम गर्दै आएका छन् । परम्परागत रूपमै भिर मौरीको घार काट्ने प्रचलनलाई महोत्सवको रूपमा अघि बढाउँदै पर्यटक तान्न गाउँलेहरू कस्सिएका हुन् ।

शुक्रवार पोखरामा पत्रकार सम्मेलन गर्दै ‘हनि हन्टिङ’ मह सिकार महोत्सवका सचिव कमल गुरुङले गाउँलाई पर्यटनसँग जोड्ने चाहाना अनुरुप मह सिकारलाई महोत्सवको रूपमा लैजान लागेको जानकारी दिए ।

मंसिर २७ र २८ गते लान्द्रुकमा हुने उक्त कार्यक्रमा अनुभवी भएमा जो कहिले पनि सुरक्षा अपनाएर मह सिकार गर्न सक्ने उनको भनाइ छ । ‘गाउँमा पहिला पर्यटकको आगमन हुने गरेको थियो । तर अहिले निकै न्यून छ । हाम्रो गाउँ पर्यटकीय गाउँ भएपनि पछिल्लो समय सडक विस्तारका कारण पछि परेको छ’ उनले भने,‘पहिला अन्नपूर्ण आधार शिविर जाने पदमार्ग यही हो तर अहिले सडक बनेपछि यताको बाटो प्रयोग हुन छाड्यो । त्यसैले गाउँलेहरुले व्यवसाय गुमाउँदै जान परेको छ ।’ गाउँपालिकाले मह सिकारका लागि वर्षेनी आर्थिक सहयोग गर्दै आइरहेको उनले बताए । सोही पालिकाको सहयोगलाई लिएर महोत्सवको रूपमा विकास गर्ने योजना अघि सारेको उनको भनाइ छ ।

वर्षेनी जङ्गली मौरीले भीरमा बनाएको घार काट्ने र त्यहाँबाट मह निकालेर बेच्ने गरेको उनले सुनाए । गत वर्ष ६० लिटर मह निकालेको उनले बताए । मह सिकारका साथै सांस्कृतिक महोत्सव समेत गरिने उनले बताए ।

वडा नं. ७ का वडा सदस्य राम गुरुङले पालिकाको साथै केही विदेशी सहयोग समेत आउने गरेको बताए । उनले लान्दु्रक पुग्नका लागि पोखरा १ हरिचोक देखि जिप समेत लाग्ने बताए । उनका अनुसार मह बढी निस्किएमा महोत्सवको मिति बढ्ने नभए २८ गते नै सम्पन्न हुने बताए ।

महोत्सव संयोजक राजु पौडेलले मह सिकार निकै साहसी काम भएको बताए । उनले जङ्गली मौरीको महको माग निकै रहेको र ३ हजार रुपैयाँ लिटरमा बिक्री गर्ने योजना बनाएको सुनाए । ‘हामीले यो वर्ष मह ३ हजार रुपैयाँका दरले बिक्री गर्ने निर्णय गरेका छौँ । मह बिक्री गर्न समस्या छैन ।

पहिला नै मह किन्नका लागि मानिसहरू आइसकेका छन् तर यसलाई एउटा महोत्सवको रूपमा विकास गरी मनोरञ्जन समेत दिने योजना हो’ उनले भने । उनका अनुसार मह सिकार गर्ने परम्परालाई महोत्सवमा रूपान्तरण गर्दा नयाँ पुस्ताले समेत कसरी भिर मौरीको घार काट्ने भन्ने कुराको ज्ञान पाउनेमा आफूहरू आशावादी रहेको सुनाए । घार काट्न अनुभवका साथै ज्ञानको समेत उत्तिकै खाँचो रहेको उनको भनाइ छ । जसका लागि यो वर्ष ९ देखि ११ जनाको समूह रहेका छन् ।