महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति



दार्चुला । 

भारतले महाकाली नदीमा निर्माण गरिरहेको पक्की तटबन्धबारे विवाद भएपछि महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति भएको छ ।

भारतको धारचुलामा बुधबार बसेको भारत–नेपाल सीमा समन्वय बैठकमा यस्तो सहमति भएको हो । बैठकपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘भारतले महाकाली नदीको वहाव नेपालतर्फ फर्काउने गरेर अस्थायी बाँध बाँधेको थियो । आजको बैठकले महाकाली नदी किनारको भारततर्फको तारजाली सहितको अस्थायी तटबन्ध हटाउने सहमति गरेको छ ।’

भारतले सीमाभन्दा निकै वर आएर तारजालीसहितको अस्थायी तटबन्ध निर्माण गर्दा नदीको बहाव नेपालतिर फर्काएको भन्दै नेपाली पक्षले भारतीय पक्षको चर्को विरोध गर्दै ढुंगा हानाहान भएको थिए । यस्तै, भारतले निर्माण गरिरहेको तटबन्धबारे दुवै देशका इन्जिनियरहरूले अनुगमन गर्ने बताइएको छ ।

बैठकमा नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सुरक्षा निकायका प्रमुख, महाकाली नदी नियन्त्रण आयोजनाका प्रतिनिधि करन सिंह धामी, भारतको तर्फबाट पिथौरागढ जिल्लाका जिल्लाधिकारी रीना जोशी, तहशील धारचुलाका उपजिल्ला अधिकारी दिवेश शासनीलगायत सुरक्षा निकाय प्रमुखहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्