स्याङ्जा र बाजुरामा कांग्रेसको अग्रता कायमै

0
Shares

गत मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणना जारी रहेका स्याङ्जा–२ र बाजुरामा कांग्रेसले अग्रता कायम राखेका छन् । स्याङ्जा–२ मा नेपाली कांग्रेसका धनराज गुरुङ र एमाले सचिव पद्यमा अर्यालबीच प्रतिष्पर्धा छ । जारी मतगणनामा ५ हजार २१७ मत गणना गर्न बाँकी हुँदा गुरुङले ५ हजार ९७५ को मतान्तरको अग्रता लिनुभएको निर्वाचन अधिकृतको कार्यालय स्याङ्जाले जनाएको छ ।

७० हजार १९९ मत खसेको उक्त क्षेत्रमा ६४ हजार ९५४ मतगणना भएको छ । जसमध्ये कांग्रेस उम्मेदवार गुरुङले २९ हजार ५६६ मतसहित अग्रता लिनुभएको छ भने एमालेकी अर्यालले २३ हजार ५९१ मतसहित पछ्याइरहनुभएको छ । उहाँहरुबीचको मतान्तर ५ हजार ९७५ छ । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ७ हजार ७५६ मत ल्याएका छन् ।

त्यस्तै बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले चार हजारभन्दा बढी मतले अग्रता कायम गर्नुभएको छ । बुधबार बेलुकीबाट सुरु भएको मतगणना अहिले पनि जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २९ हजार मतगणना गर्दा कांग्रेस उम्मेदवार पाण्डेले १७ हजार आठ सय ५५ मत प्राप्त गर्नुभएको छ भने निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले १३ हजार दुई सय ९७ मत प्राप्त गर्नुभएको छ उहाँहरुबीचको मतान्तर ४ हजार ५५८ रहेको छ ।

उहाँहरुको मतान्तर र अव गन्ने मतको तथ्यांक हेर्दा दुवै जिल्लामा नेपाली कांग्रेसका उम्मेदवारले जित्न सक्ने देखिएको छ । देशभरको मत गणना सकिदै गर्दा प्रतिनिधिसभामा हाल सम्म नेपाली कांग्रेसले ५५ , एमालेले ४४ र माओवादी केन्द्रले १७ सिट प्राप्त गरेका छन् । नेकपा एकीकृत समाजवादी १०, रास्वपा, राप्रपा र जसपाले ७–७ सिट पाएका छन भने लोसपाले ४ सिट प्राप्त गरेको छ ।