हेल्प नेपाल धुलिखेलबाट दुई छोरी बिदाइ भए 

14
Shares

काभ्रे।

अनाथ बालिकाहरुको पठनपाठन गराउने उद्देश्यले स्थाथिप हेल्प नेपाल बालगृह (आवासीय) ले दश जोड दुई कक्षाको पढाई पुरा गरेका दुई जना छात्राहरुका साथ चार जना सहयोगीहरुलाई शनिवार एक कार्यक्रमको आयोजना गरी बिदाइ गर्‍यो ।

कार्यक्रममा धुलिखेल नगरपालिकाका पूर्व मेयर बेल प्रसाद श्रेष्ठले कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गर्दै बाल्य अवस्थामा नै टुहुरा बनेका बालबालिकालाई पालन, पोषण, शिक्षा, स्वास्थ्य र उज्ज्वल भविष्यको लागि बीमा समेत गरेर नानीहरुका नाममा केही रकम बचत गरी १२ कक्षा पास गरेपछि बिदाइ गर्दै पुन: आफन्तसँग पुनर्मिलन गराउँने कार्यक्रमको मुक्त कण्ठले प्रशंसा गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले बिदाइ हुँदै गरेका दुई जना विद्यार्थी निर्मला ढकाललाई संस्थाले एसइई र दशजोड दुईको प्रमाणपत्र, संस्थाले जम्मा गरिदिएको बीमा रकम र सहकारीमा जम्मा गरेको रकम सहित ४ लाख १० हजार ६ सय ६५ रुपैयाँको चेक र सहकारीको शेयर प्रमाणपत्र सहित सम्मान गर्नुभयो । त्यसै गरी अर्की विद्यार्थी श्रीया श्रेष्ठ पनौती चौकटलाई प्रमाणपत्र सहित ३ लाख ९६ हजार ७ सय ७५ रुपैयाँको चेक सहित बिदाइ गर्नुभयो ।

बिदाइ कार्यक्रममा हेल्प नेपालका केन्द्रीय अध्यक्ष अरुण बस्नेतले विक्रम संवत् २०७१ सालमा धुलिखेल नगरपालिका साविक ३ मा मनकारी दाता तथा स्थानीय सहयोग तथा हेल्प नेपाल केन्द्रको सहयोगमा स्थापित हेल्प नेपालले २५ जना छोरीहरुलाई पठनपाठन, आवाससहित जीवन बीमा समेतको व्यवस्था गर्दै आएको जानकारी गराउनुभयो ।

उहाँले यो सहयोगका लागि हामी नेपालीहरुनै मिलेर दिनको एक कप चिया कटौती गरौँ भन्दै स्वदेशी तथा विदेशीहरुसँग हात फैलाएर धुलिखेलमा हेल्प नेपालको आफ्नै भवन बनाउनुका साथै असहाय २५ जना बालिकाहरुलाई आवासगृह सहितको पठनपाठनको व्यवस्था गरिएको जानकारी गराउनुभयो ।

उहाँले यो घर बनाउँदा नेपालीहरुका साथै विदेशी स्वयमसेवकहरुले समेत घरको गारो लगाउने, गिटी, बालुवा, इँटा, छड बोक्ने लगायत थुप्रै काम प्रत्यक्ष रुपमा सहभागी भएर गरे र सक्दो सहयोग पनि गरेका छन् भन्नुभयो ।

कार्यक्रममा हेल्प नेपाल नेटवर्क नेपालमा स्थापना काल देखि सहयोग गर्ने सहयोगी चमेली लामिछाने, सिता भण्डारी, आत्मराम पोखरेल, राजकुमार तामाङलाई केन्द्रीय अध्यक्ष, संस्थाका संयोजक राजेन्द्र श्रेष्ठ, व्यवस्थापक पुण्यवती घले, संरक्षक पूर्ण बहादुर कार्की, प्रमुख अतिथि श्रेष्ठ लगायतको टोलीले दोसल्ला,कतदरपत्रले सामूहिक रुपमा सम्मान गर्नुभएको थियो ।

हेल्प नेपाल धुलिखेलका व्यवस्थापक पुण्यवती घलेले पैसाले सबै कुरा किन्न सकिएला तर पैसाले किन्न नसकिने संस्कार अभिभावकले आफ्ना बालबालिकालाई दिनुहोला । हेल्प नेपालले पैसाले किन्न नसकिने व्यवहारिक, नैतिक शिक्षा र संस्कार नानीहरुलाई सिकाएको छ यो नै उनीहरुको उज्ज्वल भविष्यको मूल आधार हो भन्नुभयो । नेपालीहरु दिन प्रतिदिन शिक्षा पाएर पनि रोजगारी र सन्तोषजनक विकासको आधार तय नहुँदा विदेशिएका छन् ।

यसरी नै कलिला बालबालिका, युवा शक्ति हरेक दिन बिदेसिँदै गइरहने हो भने एक दिन नेपाल आमाको काख रित्तो नहोला भन्न सकिन्न । यसका लागि देश विकासको नेतृत्व लिएको वर्ग र राज्यले गम्भीर भएर युवा पुस्तालाई स्वदेशमै स्वरोजगारी सृजना गरी शिक्षा, सीप दिएर काम गर्ने वातावरण बनाउनुपर्छ भन्नुभयो ।

सोही अवसरमा बिदाइ भएर जाँदा जाँदै श्रीया श्रेष्ठले बिदाइ भएर जानुपर्दा दुःख लागे पनि संस्थाले दिएको शिक्षा र सहयोगको कदर गर्दै भोलिका दिनमा यो संस्थामा आरक्षित बैनीहरुको लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । त्यसै गरी निर्मला ढकालले पनि परिवारबाट छुटिएर विदा हुँदा दुःख लागेको छ, तर मलाई यो संस्थाले यहाँ सम्म पुर्‍याएकोमा खुसी छु । मैले पाएको शिक्षा, सीप र संस्कारको सधैँ सम्मान गर्दै आगामी दिनमा म जस्ता टुहुराको शिक्षाका लागि मैले पनि सक्दो सहयोग गर्छु र मेरा २३ जना बैनीहरुलाई पनि सक्दो सहयोग गर्नेछु भन्नुभयो ।

संस्थापक संरक्षक पूर्ण बहादुर कार्कीले हेल्प नेपालले पाएको सहयोगबाट थोपा थोपा बचाएको रकमबाट १५ लाख अक्षयकोष जम्मा गरिसकेको र भविष्यमा १ करोड अक्षय कोषको स्थापना गरी त्यसबाट आउने व्याजबाट संस्था र संस्थामा आश्रित बालबालिकाहरुको शिक्षा, स्वास्थ्य र स्वरोजगारका क्षेत्रमा काम गर्दै जाने योजना रहेको जानकारी गराउनुभयो ।